डाइनामिक कप इनक्लाइन स्केटिङ प्रतियोगिता शनिबार, करिब ५ सय खेलाडी सहभागी हुने
काठमाडौं।डाइनामिक स्केट क्लबको आयोजनामा डाइनामिक कप इनक्लाइन स्केटिङ प्रतियोगिता शनिबार आयोजना हुने भएको छ। प्रतियोगितामा पुरुष तथा महिलातर्फ विभिन्न उमेर समूहका करिब ५ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रोजन भासिमाले प्रतियोगितामा देशभरका स्केटिङ खेलाडी सहभागी हुने जानकारी दिए। प्रतियोगिताले नेपालमा स्केटिङ खेलको विकास र खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयारी गराउन मद्दत पुग्ने उनले बताए।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वय तथा सहयोगमा आयोजना हुन लागेको उक्त प्रतियोगिता पाराग्वेमा आगामी अक्टोबरमा हुने रोलर डर्बी वल्र्ड स्केट प्रतियोगिताको छनोटका रूपमा समेत रहने संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले जानकारी दिए।
उनका अनुसार सोही दिन वल्र्ड स्केट प्रतियोगिताका लागि राष्ट्रिय टोली छनोट गर्न छुट्टै प्रतिस्पर्धा पनि सञ्चालन गरिनेछ। एकदिने प्रतियोगिताका खेलहरू भक्तपुरस्थित काठमाडौं वल्र्ड स्कुलको मैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ।












