शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
काठमाडौं।कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मा राष्ट्रिय बाघ गणना कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ। मङ्गलबार स्वचालित क्यामेरा जडान तथा सञ्चालन गर्दै बाघको गणना प्रक्रिया प्रारम्भ गरिएको हो।
कार्यक्रमको उद्घाटन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग का उप–महानिर्देशक बेदकुमार ढकाल ले गरेका थिए। उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख, निकुञ्जका संरक्षण अधिकृत तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
निकुञ्ज क्षेत्रका विभिन्न सम्भावित बासस्थान तथा आवागमन मार्गहरूमा स्वचालित क्यामेरा जडान गरेर बाघको गतिविधि र संख्या पहिचान गर्ने उद्देश्यले गणना सुरु गरिएको विभागले जनाएको छ। क्यामेराबाट प्राप्त हुने तस्बिर तथा तथ्यांकका आधारमा बाघको वास्तविक संख्या निर्धारण गरिनेछ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालका प्रमुख बाघ बासस्थानमध्ये एक मानिन्छ। यहाँ बाघसहित विभिन्न दुर्लभ वन्यजन्तु र जैविक विविधता पाइने भएकाले संरक्षणका दृष्टिले पनि निकुञ्जलाई महत्वपूर्ण मानिन्छ।
विभागका अनुसार बाघ गणना कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने र प्राप्त नतिजाले नेपालमा बाघ संरक्षणको अवस्था तथा आगामी रणनीति तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।












