अनेरास्ववियु मोरङकी इन्चार्ज प्रीति दाहाललाई ज्यान मार्ने धम्की,साइबर ब्युरोमा उजुरी
अनेरास्ववियु केन्द्रीय सदस्य प्रीति दाहाललाई सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की,साइबर धम्कीविरुद्ध कानुनी कारबाहीमा उत्रिइन् प्रीति दाहाल
काठमाडौं।प्रीति दाहाल ले आफूलाई सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की र गाली गलौज गरिएको भन्दै कानुनी कारबाहीको प्रक्रिया अघि बढाएकी छन्।उनले विद्युतीय कारोबार ऐन,२०६३ अनुसार साइबर ब्युरोमा आधिकारिक उजुरी दर्ता गराएको जानकारी दिएकी हुन्।
दाहालले सामाजिक सञ्जाल मार्फत जारी गरेको वक्तव्यमा आफ्नो राजनीतिक आस्था र विचारमाथि प्रहार गर्न नसकेपछि केही व्यक्तिहरूले परिवार र ज्यानकै धम्की दिने प्रयास गरेको आरोप लगाएकी छन्।“कायरहरूको धम्कीले विचारको मशाल निभ्दैन,”भन्दै उनले यस्तो डर र दबाबले आफूलाई विचलित पार्न नसक्ने स्पष्ट पारेकी छन्।

उनले विचारको लडाइँ तर्क र धैर्यले जितिने बताउँदै हिंसा, गालीगलौज र धम्कीको सहारा लिनेहरूलाई कानुनको दायरामा ल्याइने चेतावनी दिएकी छन्। दाहालका अनुसार प्रविधिको आडमा लुकेर कसैको व्यक्तिगत जीवन र सुरक्षामाथि खेलबाड गर्नेहरूलाई राज्यको संयन्त्रले पहिचान गरी कानुनी कठघरामा उभ्याउनेछ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङकी इन्चार्ज तथा केन्द्रीय कमिटी सदस्यसमेत रहेकी दाहालले आफ्नो आस्था र सिद्धान्तमाथि प्रहार भए पनि सत्य र न्यायको पक्षमा लडाइँ जारी राख्ने बताएकी छन्।
सामाजिक सञ्जालमा दाहालको समर्थनमा विभिन्न व्यक्तिहरूले प्रतिक्रिया जनाउँदै धम्की र गालीगलौज गर्ने प्रवृत्तिको विरोध गरेका छन्।समर्थकहरूले विचारको लडाइँ तर्कबाटै जितिने भन्दै दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन्।













