निम्स दाइप्रति श्रद्धाञ्जली अर्पण गर्दै यूएईमा पार्क रन भव्य रूपमा सम्पन्न
![]()

यूएई।हिमालयका साहसी आरोही तथा वीर नेपाली निम्स दाइप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्वास्थ्य, फिटनेस, खेलकुद तथा दौड संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल रन यूएईको आयोजनामा ‘NIMS DAI TRIBUTE PARK RUN’ आइतबार शार्जाहस्थित बुहाइरा कर्निशमा भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

अगस्ट २३, २०२६ आइतबार बिहान ६ बजेदेखि सुरु भएको कार्यक्रमको सुरुवात वीर निम्स दाइको सम्झनामा मौनधारण तथा श्रद्धाञ्जली अर्पणबाट गरिएको थियो। त्यसपछि सहभागीहरूलाई दौड, शारीरिक फिटनेस, नियमित व्यायाम तथा स्वस्थ जीवनशैलीका विषयमा जानकारी दिँदै आवश्यक फिटनेससम्बन्धी सुझाव तथा टिप्स प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी धावकहरूले निर्धारित क्षेत्रमा उत्साहपूर्वक दौडमा सहभागिता जनाउँदै ‘स्वास्थ्यका लागि दौड’ र ‘साहसीहरूका लागि सम्मान’ भन्ने मूल भावलाई व्यवहारमै प्रस्तुत गरेका थिए। दौडमार्फत स्वास्थ्यप्रति सचेतना अभिवृद्धि, नियमित व्यायाम तथा सक्रिय जीवनशैलीको सन्देश प्रवाह गर्नुका साथै हिमालयका साहसी नेपालीहरूको योगदानप्रति सम्मान व्यक्त गरिएको थियो।

![]()

कार्यक्रममा नेपाली महावाणिज्यदूतावास, दुबईका महावाणिज्यदूत श्री हरिप्रसाद ओडारीकी धर्मपत्नी श्रीमती चन्द्रा पाण्डेको समेत सहभागिता रहेको थियो। नेपाली समाज यूएईका प्रमुख सल्लाहकार, नवलपुर सेवा समाज यूएईका संरक्षक सदस्य तथा पाल्पाली समाज यूएईका संरक्षक श्री बेदप्रसाद अर्यालको विशेष उपस्थिति रहेको कार्यक्रममा नवलपुर सेवा समाज यूएईका महासचिव श्री रामप्रसाद ढकाललगायत यूएईमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, खेलप्रेमी, युवा, धावक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा खेलकुद तथा दौडलाई केवल प्रतिस्पर्धाका रूपमा मात्र नभई स्वस्थ जीवनशैली, मानसिक स्फूर्ति, अनुशासन, आत्मविश्वास तथा सामाजिक एकताको माध्यमका रूपमा प्रस्तुत गरिएको थियो। नियमित दौड तथा शारीरिक गतिविधिले मानिसलाई सक्रिय र स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने सन्देशसमेत सहभागीहरूलाई दिइएको थियो।
कार्यक्रमलाई व्यवस्थित तथा प्रभावकारी बनाउन सुजन थापाको नेतृत्वमा श्रद्धाञ्जली, सम्झना तथा मौनधारण कार्यक्रमसँगै फिटनेससम्बन्धी जानकारी र उपयोगी टिप्स प्रस्तुत गरिएको थियो। नेपाल रन यूएईका क्याप्टेन नवराज पाण्डे (फुलेबुढा) लगायत आयोजक तथा स्वयंसेवकहरूको सक्रिय भूमिका रहेको थियो।

कार्यक्रमको समन्वय तथा व्यवस्थापनमा गोपाल पराजुली, सुजन थापा तथा नेपाल रन यूएईको सम्पूर्ण टिमले महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ। सहभागी धावक तथा अतिथिहरूका लागि पानी तथा फलफूलको व्यवस्थापन सविता रिजाल पाण्डे र सोनम गुरुङले गरेका थिए। त्यस्तै, कार्यक्रमको समापनमा सहभागी सम्पूर्ण टिम तथा अतिथिहरूका लागि ‘फिटनेस नेपाली’ समूहले नास्ताको व्यवस्थापन गर्दै कार्यक्रमलाई थप आत्मीय र व्यवस्थित बनाउन सहयोग गरेको थियो।
‘NIMS DAI TRIBUTE PARK RUN’ ले खेलकुद तथा दौडका माध्यमबाट नेपाली समुदायमा फिटनेस संस्कृतिको विकास गर्ने, युवालाई शारीरिक गतिविधितर्फ आकर्षित गर्ने, नियमित व्यायामको महत्वबारे सचेतना फैलाउने तथा सामाजिक एकता र सद्भावलाई मजबुत बनाउने महत्वपूर्ण सन्देश दिएको आयोजकहरूको भनाइ रहेको छ।
यूएईमा नेपाली समुदायबीच बढ्दै गएको दौड तथा फिटनेस संस्कृतिलाई थप प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले नेपाली युवालाई खेलकुदसँग जोड्नुका साथै नेपालको साहस, पहिचान र हिमालयसँग जोडिएको गौरवपूर्ण इतिहासलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउनसमेत योगदान पुर्याउने विश्वास गरिएको छ।
स्वास्थ्य, खेलकुद, सामाजिक एकता र वीर नेपालीहरूको सम्मानलाई एउटै अभियानमा जोडिएको ‘NIMS DAI TRIBUTE PARK RUN’ शार्जाहमा नेपाली समुदायको उत्साहपूर्ण सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ।












