रोड टु एभरेस्ट’को नेपाल प्रिमियर सम्पन्न, सगरमाथाको कथा नयाँ दृष्टिकोणबाट प्रस्तुत – Sagarmathapana:: Online News Portal

रोड टु एभरेस्ट’को नेपाल प्रिमियर सम्पन्न, सगरमाथाको कथा नयाँ दृष्टिकोणबाट प्रस्तुत

   २०८३ भाद्र ८ गते  

काठमाडौं।सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा समेटिएको नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर सम्पन्न भएको छ।

शनिबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा आयोजित प्रिमियरमा पर्यटन तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी, शिक्षाविद्, कलाकार, विभिन्न विद्यालय तथा कलेजका प्रतिनिधि र दर्शकको सहभागिता थियो। सो अवसरमा तीन विशेष शो आयोजना गरिएको थियो।

वृत्तचित्रका निर्देशक निर्मल श्रेष्ठले सगरमाथालाई चिनाउनभन्दा पनि बुझाउन आफूहरूले फिल्म निर्माण गरेको बताए। उनका अनुसार सगरमाथा केवल हिमाल नभई नेपाली साहस, सपना, संघर्ष, पहिचान र भविष्यसँग जोडिएको गौरव हो।

५० मिनेट लामो वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको यात्रासँगै पर्वतारोहणका चुनौती, शेर्पा समुदायको योगदान र जलवायु परिवर्तनका कारण तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणलाई प्रस्तुत गरेको छ।

वृत्तचित्रको केन्द्रमा ५० वर्ष नाघेका राज गुरुङको सगरमाथा आरोहण यात्रा रहेको छ। उमेर र आफ्नै सीमालाई चुनौती दिँदै उनले गरेको आरोहणलाई सपना, संघर्ष, आत्मविश्वास र मानवीय दृढ संकल्पको कथाका रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

वृत्तचित्रमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पासहित विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठको सहभागिता छ। यसको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ।

वि विल राइज फाउन्डेसनले निर्माण गरेको ‘रोड टु एभरेस्ट’मा कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग नगरिएको जनाइएको छ। नेपाली हिमाली सम्पदा तथा पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुका साथै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावबारे जनचेतना फैलाउनु वृत्तचित्रको मुख्य उद्देश्य रहेको निर्माण पक्षले जनाएको छ।

नेपाल प्रिमियरपछि वृत्तचित्रलाई देशका विभिन्न स्थानमा प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल तथा सिनेमा हलमा लैजाने तयारी भइरहेको छ। निर्माण पक्षका अनुसार यसको अन्तर्राष्ट्रिय प्रिमियर आगामी भदौ २८ गते हङकङमा हुनेछ।

प्रिमियरपछि दर्शकले वृत्तचित्रको विषयवस्तु, प्रस्तुति र सन्देशको प्रशंसा गर्दै नेपालीले आफ्नै हिमालको कथा आफ्नै दृष्टिकोणबाट प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै