युवास श्रेष्ठको नेतृत्वमा नेवाः पत्रकार राष्ट्रिय दबू मधेश प्रदेश समिति गठन
![]()
चन्द्रनिगाहपुर।नेवाः पत्रकार राष्ट्रिय दबू मधेश प्रदेशको अध्यक्षमा रौतहटका युवा पत्रकार युवास श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न दबूको प्रथम प्रदेश भेलाले श्रेष्ठको अध्यक्षतामा प्रदेश समिति गठन गरेको हो।

![]()
भेलाबाट सिराहाका रविन्द्र श्रेष्ठ र बाराकी मञ्जु मानन्धर उपाध्यक्षमा चयन भएका छन्। रौतहटका दीपक श्रेष्ठ सचिव तथा रिना श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित भएका छन्। प्रदेश समिति सदस्यमा सर्लाहीका सञ्जीव श्रेष्ठ, बाराका प्रकाश श्रेष्ठ र सन्तोष रन्जितकार चयन भएका छन्।

त्यस्तै भेलाले शंकर श्रेष्ठ, जीतलाल श्रेष्ठ र गौतम श्रेष्ठलाई केन्द्रीय पार्षद्का रूपमा चयन गरेको छ।
नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय उपाध्यक्ष सन्दिप श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा कान्तिपुर दैनिकका उपसम्पादक शिव पुरी, चन्द्रपुर नगरपालिका–६ का वडाध्यक्ष सहदेव केसी, प्रेस चौतारी नेपाल रौतहटका अध्यक्ष अशोक पहाडी, प्रेस सेन्टर नेपाल रौतहटका अध्यक्ष डिल्लीबहादुर कार्कीलगायतको उपस्थिति थियो।


कार्यक्रममा वक्ताहरूले पत्रकारितामार्फत समाजमा रहेका विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए। साथै नेवारी समुदायको भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।
नवनिर्वाचित अध्यक्ष युवास श्रेष्ठले मधेश प्रदेशमा रहेका नेवा पत्रकारलाई संगठित गर्दै पत्रकारिताको व्यावसायिक क्षमता अभिवृद्धि तथा समुदायका भाषा, संस्कृति र पहिचानका विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाए।


प्रथम प्रदेश भेलासँगै मधेश प्रदेशमा नेवाः पत्रकार राष्ट्रिय दबूको संस्थागत संरचना विस्तार भएको छ। नयाँ नेतृत्वले प्रदेशभरका नेवा पत्रकारलाई संगठित गर्दै पत्रकारिता र समुदायको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।













