पर्यटन बोर्डका निमित्त प्रमुख ऐरद्वारा लिखित ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङ’ पुस्तक विमोचन
![]()
काठमाडौं।नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरद्वारा लिखित ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङ: भुपरिवेष्ठितबाट भूजडित उडान’ पुस्तक विमोचन भएको छ ।

![]()
सुदूरपश्चिम सरोकार मञ्च नेपालको २०औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पुस्तक विमोचन गरेका हुन् । सुदूरपश्चिममा जन्मिएका ऐर विगत २६ वर्षदेखि नेपाल पर्यटन बोर्डमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै हाल निमित्त कार्यकारी प्रमुखको भूमिकामा छन् ।
पर्यटन क्षेत्रको विकास, पूर्वाधार, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कनेक्टिभिटी र नेटवर्किङलाई केन्द्रमा राखेर तयार पारिएको १८२ पृष्ठको पुस्तकमा नेपालको पर्यटन विकासका विभिन्न सम्भावना, चुनौती र नीतिगत पक्षलाई समेटिएको छ ।


पुस्तकमा पर्यटनलाई आर्थिक तथा सामाजिक विकासको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै पर्यटकीय गन्तव्यको विकासदेखि क्षेत्रीय पर्यटन बजारसम्मका विषयमा लेखकले आफ्ना दृष्टिकोण र अनुभव प्रस्तुत गरेका छन् ।
पुस्तक सातवटा खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा ‘उत्तर–दक्षिण कोरिडोरले देखाएको त्रिदेशीय विकासको सम्भावना’, दोस्रोमा ‘पर्यटकीय गन्तव्यहरूमा विकासका आयाम’, तेस्रोमा ‘पर्यटन क्षेत्रमा नीतिगत व्यवस्था’, चौथोमा ‘पर्यटकीय उपजमा नौलो प्रयास’ समेटिएको छ । त्यस्तै, पाँचौँ खण्डमा ‘आर्थिक–सामाजिक विकासको इन्जिन पर्यटन’, छैटौँमा ‘क्षेत्रीय पर्यटन बजारमा विकासको सन्दर्भ’ र सातौँ खण्डमा ‘पर्यटनमा आवश्यक कनेक्टिभिटी र नेटवर्किङ’ विषय समेटिएको छ ।



पुस्तक विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री चन्दले नेपालको पर्यटन विकासका लागि सडक, हवाई तथा अन्य यातायात पूर्वाधारसँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्पर्क विस्तार आवश्यक रहेको धारणा राखे । उनले पर्यटनलाई केवल मनोरञ्जन वा भ्रमणको क्षेत्रका रूपमा मात्र नभई मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री चन्दले पुस्तकले नेपालको पर्यटन विकासका लागि कनेक्टिभिटी र नेटवर्किङको महत्त्वलाई स्पष्ट रूपमा उजागर गरेको बताए । नेपालको भौगोलिक, सांस्कृतिक तथा प्राकृतिक विविधताले सिर्जना गरेका पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न पुस्तकले महत्वपूर्ण दृष्टिकोण प्रस्तुत गरेको उनको भनाइ थियो ।

पर्यटन बोर्डका निमित्त प्रमुखसमेत रहेका लेखक ऐरले नेपालको पर्यटन विकासलाई गन्तव्यको प्रचारप्रसारमा मात्र सीमित नराखी कनेक्टिभिटी, नेटवर्किङ, नीति, पूर्वाधार, पर्यटन उत्पादन र बजार विस्तारलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । पुस्तकमा उनले पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न विषयलाई आफ्ना अध्ययन, अनुभव र व्यावहारिक दृष्टिकोणका आधारमा प्रस्तुत गरेका छन् ।

ऐरले पुस्तकमार्फत नेपालको पर्यटन विकासका सम्भावनालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्जालसँग जोडेर हेर्न खोजिएको बताएका छन् । विशेषगरी उत्तर–दक्षिण कोरिडोर, नयाँ पर्यटकीय गन्तव्य, पर्यटन उपजमा नवीनता, क्षेत्रीय पर्यटन बजार र पूर्वाधारको विकासलाई नेपालको पर्यटनको दीर्घकालीन विस्तारसँग जोडिएको छ ।
पुस्तकमा नेपालको पर्यटन क्षेत्रको वर्तमान अवस्था र यसको अपरिहार्य विकासका आयामलाई समेटिएको छ । सडक, रेल, हवाई सेवाको उत्तर-दक्षिण तथा पूर्व-पश्चिम कनेक्टिभिटीको सञ्जाल विस्तारमार्फत् सातै प्रदेश जोड्दै नयाँ राष्ट्र निर्माण गर्ने दूरदृष्टि पुस्तकको केन्द्रीय विषय बनाइएको छ । यसका साथै लेखक ऐरले आफ्नो २६ वर्षको अनुभव र दृष्टिकोणले पर्यटन विकासमा कनेक्टिभिटीमार्फत् नेपाललाई भूपरिवेष्ठितबाट भू-जडित राष्ट्रमा रुपान्तरण गर्ने खाकासमेत प्रस्ताव गरेको छ । नेपालको पर्यटन क्षेत्र पछिल्लो समय गन्तव्य विविधीकरण, नयाँ बजार विस्तार र क्षेत्रीय कनेक्टिभिटीको खोजीमा रहेकाले पुस्तकमा उठाइएका विषय पर्यटन नीति तथा योजना निर्माणका लागि समेत सान्दर्भिक हुने वक्ताहरुले बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, पूर्व उर्जासचिव अनुप उपाध्याय, पूर्व स्वास्थ्य सचिवसमेत रहेका मञ्चका अध्यक्ष दीर्घ सिंह बम, पूर्व प्रहरी प्रमुख मोतीलाल बोहरालगायतको उपस्थिति रहेको थियो ।
तस्बिर:दिलीप कार्की NTB












