रास्वपाको केन्द्रीय समिति विस्तार, तीन मन्त्रीसहित ९ जना मनोनीत
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गर्दै सरकारमा सहभागी तीन मन्त्रीसहित नौ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
त्यस्तै, भूपदेव शाह, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राईलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको रास्वपाले जनाएको छ।
बैठकले पार्टीका विभिन्न विभागको नेतृत्वसमेत तोकेको छ। संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की र पूर्वाधार विभाग प्रमुखमा निशा डाँगीलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागको प्रमुखमा परराष्ट्रमन्त्री शिशिर खनाल तथा अर्थ विभाग प्रमुखमा लीमा अधिकारीलाई जिम्मेवारी तोकिएको छ।
पार्टीको सांगठनिक संरचनालाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउन केन्द्रीय समिति विस्तार तथा विभागीय जिम्मेवारी हेरफेर गरिएको रास्वपाले जनाएको छ।












