फोहोर व्यवस्थापन बैठकमा आशिका तामाङ र मेयरहरूबीच चर्काचर्की,बैठक छाडेर बाहिरिइन् सांसद – Sagarmathapana:: Online News Portal

फोहोर व्यवस्थापन बैठकमा आशिका तामाङ र मेयरहरूबीच चर्काचर्की,बैठक छाडेर बाहिरिइन् सांसद

   २०८३ भाद्र ५ गते  

काठमाडौं।काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे आयोजित बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र उपत्यकाका नगरप्रमुखहरूबीच चर्काचर्की भएको छ। विवाद बढेपछि सांसद तामाङ बैठक छाडेर बाहिरिएकी छन्।


भौतिक पूर्वाधारमन्त्रीको अध्यक्षतामा बस्नुपर्ने बैठक मन्त्री अस्वस्थ भएपछि सञ्चारमन्त्री विक्रम तिमल्सिनाको उपस्थितिमा सञ्चालन गरिएको थियो। पूर्वाधार मन्त्रालयको संयोजनमा भएको बैठकमा उपत्यकाका नौ नगरप्रमुख सहभागी थिए।

बैठकका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी बाहिरिन खोजेपछि सांसद तामाङले आपत्ति जनाएकी थिइन्। उनले यसअघिको बैठकमा समेत न्यून उपस्थिति रहेको भन्दै फोहोर व्यवस्थापनजस्तो संवेदनशील विषयमा मेयरहरूले छलफलमा पूर्ण समय दिनुपर्ने बताएकी थिइन्।

त्यसपछि तामाङ र नगरप्रमुखहरूबीच भनाभन सुरु भएको थियो। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले तामाङको प्रस्तुतिलाई आक्रामक भएको भन्दै असन्तुष्टि जनाएपछि बैठकको वातावरण थप तनावपूर्ण बनेको थियो।

महर्जनले फोहोर व्यवस्थापनसँग सम्बन्धित विगतका सम्झौता, कानुनी व्यवस्था र जटिलता बुझेर मात्रै नयाँ योजना अघि बढाउनुपर्ने धारणा राखेका थिए। उनले संवेदनशील विषयमा सबै पक्षबीच संयमित र संवादमुखी छलफल आवश्यक रहेकोमा जोड दिएका थिए।

विवाद चर्किएपछि सांसद तामाङ बैठकबाट बाहिरिएकी थिइन्। बाहिरिँदै उनले अबको छलफल बन्चरेडाँडामै गर्ने बताएकी थिइन्। बन्चरेडाँडा काठमाडौं उपत्यकाको प्रमुख फोहोर विसर्जनस्थल हो।

तामाङ बैठकबाट बाहिरिएपछि मेयर महर्जनले पनि बैठक सञ्चालनको शैलीप्रति असन्तुष्टि जनाएका थिए। उनले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि स्थानीय तह, संघीय सरकार र सम्बन्धित सबै पक्षबीच समन्वय तथा परिणाममुखी संवाद आवश्यक रहेको बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै