२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्टिङ ठप्प, विदेश जाने विद्यार्थी र श्रमिक प्रभावित
![]()
काठमाडौं।देशभर स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सेवा २२ दिनदेखि ठप्प हुँदा हजारौं सेवाग्राही समस्यामा परेका छन्। विशेषगरी वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि विदेश जाने तयारीमा रहेका नागरिक बढी प्रभावित भएका छन्।

![]()
यातायात व्यवस्था विभागमार्फत हुँदै आएको स्मार्ट लाइसेन्स छपाइको जिम्मेवारी प्रदेश सरकारअन्तर्गतका यातायात कार्यालयलाई दिने व्यवस्था गरिए पनि सूचना जारी भएको २२ दिन बितिसक्दा समेत प्रदेश कार्यालयहरूले नियमित रूपमा छपाइ सेवा सुरु गर्न सकेका छैनन्।


यसअघि सुरक्षण मुद्रण केन्द्रमार्फत हुँदै आएको लाइसेन्स छपाइ असार मसान्तसम्मको तोकिएको कोटा पूरा भएपछि रोकिएको हो। त्यसयता नयाँ लाइसेन्स, नवीकरण गरिएका लाइसेन्स तथा विवरण सच्याउनुपर्ने कार्डसमेत छपाइ हुन सकेका छैनन्।
यातायात व्यवस्था विभागका अनुसार २०८३ असार मसान्तसम्म छापिन बाँकी रहेका २ लाख ७४ हजार २५३ स्मार्ट कार्ड साउन ७ गतेसम्म छापेर सम्बन्धित कार्यालयमा पठाइसकिएको छ। त्यसपछि भने नयाँ कार्डको छपाइ प्रक्रिया रोकिएको विभागले जनाएको छ।

विभागले अब लाइसेन्सको विवरणगत त्रुटि सुधार, छपाइ तथा वितरणको काम सम्बन्धित यातायात कार्यालयबाट सञ्चालन हुने जनाएको छ। वैदेशिक रोजगारी वा अध्ययनका लागि तत्काल लाइसेन्स आवश्यक पर्ने सेवाग्राहीलाई सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रहसमेत गरिएको छ।


तर सेवा नियमित हुन नसक्दा विदेश जाने तयारीमा रहेका विद्यार्थी, श्रमिक तथा अन्य सेवाग्राही लाइसेन्स कहिले पाउने भन्ने अन्योलमा छन्। जिम्मेवारी हस्तान्तरण र छपाइ व्यवस्थापनमा देखिएको समस्याका कारण सेवाग्राहीले अनावश्यक सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।












