मनास्लु आरोहणका लागि रोप फिक्सिङ टोलीलाई विदाइ – Sagarmathapana:: Online News Portal

मनास्लु आरोहणका लागि रोप फिक्सिङ टोलीलाई विदाइ

   २०८३ भाद्र ८ गते  


काठमाडौं।आगामी शरद् ऋतुमा हुने मनास्लु हिमाल आरोहणका लागि आरोहण मार्ग तयार गर्न जाने रोप फिक्सिङ टोलीलाई पर्वतारोहण संचालक संघ नेपाल (EOA-Nepal) ले सुरक्षित तथा सफल अभियानको शुभकामनासहित विदाइ गरेको छ।

संघले आइतबार काठमाडौंस्थित होटल मनास्लुमा कार्यक्रम आयोजना गरी टोलीलाई विदाइ गरेको हो।विश्वको आठौँ अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) मा आगामी आरोहणका लागि आवश्यक मार्ग तयार गर्न टोली सोमबार मनास्लुतर्फ प्रस्थान गर्नेछ।

रोप फिक्सिङ टोलीमा छिरिङ भोटे, लोप्साङ भोटे, पाम दोर्जी शेर्पा, फुरी शेर्पा, ङिमा शेर्पा, कर्मा सार्की शेर्पा र पासाङ ग्याल्जेन शेर्पा रहेका छन्।

विदाइ कार्यक्रममा संघका अध्यक्ष डम्बर पराजुली, सांसद मिङ्मा ग्याबु (डेभिड) शेर्पा, नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे, नेपाल पर्यटन बोर्डका निजी क्षेत्रतर्फका कार्यकारी बोर्ड सदस्य पेम्बा शेर्पालगायत पर्यटन क्षेत्रका विभिन्न सरोकारवालाको उपस्थिति थियो।

सो अवसरमा पर्वतारोहण संचालक संघ नेपालले संघको झण्डा रोप फिक्सिङ टोलीलाई हस्तान्तरण गर्दै अभियान सफलताको शुभकामना दिएको थियो।

फोटो: phurpa Sherpa (tha everestnews )

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै