बारपाक–सुलिकोटमा दन्त उपचार केन्द्र स्थापना, दुई दिनमा ३९२ जनाले लिए सेवा – Sagarmathapana:: Online News Portal

बारपाक–सुलिकोटमा दन्त उपचार केन्द्र स्थापना, दुई दिनमा ३९२ जनाले लिए सेवा

   २०८३ भाद्र ८ गते  


काठमाडौं।गोरखाको बारपाक–सुलिकोट गाउँपालिकामा ओम समाज डेन्टल हस्पिटल र मुटु फाउन्डेसन नेपालको सहकार्यमा सञ्चालित दुईदिने निःशुल्क दन्त स्वास्थ्य शिविरबाट ३९२ जना स्थानीय लाभान्वित भएका छन्।

बारपाक–सुलिकोट गाउँपालिका–स्थित शहीद प्रेम ढकाल स्मृति आधारभूत अस्पताल, हुडीफाँटमा दन्त उपचार केन्द्रसमेत स्थापना गरिएको छ। मुटु फाउन्डेसन नेपाल, मनोज एसोसिएसन फ्रान्स र प्रोजेक्ट सूर्य पेरिस, फ्रान्सको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा स्थापना गरिएको केन्द्रको गाउँपालिका अध्यक्ष विष्णु भट्टले उद्घाटन गरेका हुन्।

केन्द्र स्थापनाको उद्देश्य दुर्गम क्षेत्रका नागरिकलाई नियमित, सहज र गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध गराउँदै सामान्य दाँतको उपचारका लागि जिल्ला सदरमुकाम वा अन्यत्र जानुपर्ने बाध्यता घटाउनु रहेको आयोजकले जनाएको छ।

दुई दिनको शिविरमा ३९२ जनाले उपचार तथा परामर्श लिएका थिए। शिविरमा १३८ जनाको स्केलिङ, ८१ जनाको दाँत निकाल्ने, २१० जनाको फिलिङ, ५१ जनाको एक्स–रे र एक जनाको रुट क्यानल उपचार गरिएको थियो। केही बिरामीले एकभन्दा बढी सेवा लिएका कारण सेवा सङ्ख्या लाभग्राही सङ्ख्याभन्दा बढी भएको आयोजकले जनाएको छ।

शिविरको पहिलो दिन मात्रै १३७ जनाले सेवा लिएका थिए, जसमा ५७ पुरुष र ८० महिला थिए।

ओम समाज डेन्टल हस्पिटलबाट डा. ममता भुजेल, डा. दीक्षा चौधरी र डा. सबिना दुवाडीसहितको दन्त चिकित्सक टोली सहभागी थियो। दन्त हाइजिनिस्ट शिवलाल महत्तवा, ल्याब टेक्निसियन सुष्मिता थापा मगर, हेल्थ असिस्टेन्ट शिखा आले मगर र अनमी निर्मला चौधरीलगायत स्वास्थ्यकर्मीले शिविरमा सेवा दिएका थिए।

शिविरका क्रममा पटक–पटक विद्युत् अवरुद्ध हुँदा दन्त उपचारका उपकरण सञ्चालनमा कठिनाइ भएको थियो। यद्यपि स्वास्थ्यकर्मी, स्वयंसेवक र आयोजकले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै बिहानदेखि बेलुकासम्म सेवा निरन्तरता दिएका थिए।

गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले दुर्गम क्षेत्रमा पुगेर चुनौतीका बाबजुद निरन्तर सेवा दिएको भन्दै स्वास्थ्यकर्मीको प्रशंसा गरिन्। उनले स्वास्थ्यकर्मीले स्थानीयलाई आफ्नै परिवारका सदस्यसरह व्यवहार गर्दै सेवा दिएको बताइन्।

मुटु फाउन्डेसन नेपालका अध्यक्ष धनबहादुर गुरुङले विभिन्न चुनौतीका बीच शिविर सफलतापूर्वक सम्पन्न भएको भन्दै दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि समुदायमुखी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने बताए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सुवास आले, स्वास्थ्य प्रमुख कृष्ण भट्ट, अस्पतालका सहायक भीमसेन ढकाल, मुटु फाउन्डेसन नेपालका अध्यक्ष धनबहादुर गुरुङ, ओम समाज डेन्टल हस्पिटलका बोर्ड सदस्य तथा सामाजिक अभियन्ता एवं पत्रकार राजन थापा, पत्रकार शान्तिदीप रेग्मीलगायत स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेवक र स्थानीयको सहभागिता थियो।

प्रोजेक्ट सूर्य पेरिस, फ्रान्सका अल्बान, अपोलिन, युनेस, अमान्डिन, डानियल र आल्मालगायतका प्रतिनिधिसमेत कार्यक्रममा सहभागी भएका थिए।

दन्त उपचार केन्द्र सञ्चालनमा आएपछि बारपाक–सुलिकोटका स्थानीयले नियमित दन्त उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने र समुदायमा मौखिक स्वास्थ्यसम्बन्धी सचेतना बढ्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै