तारकेश्वरबाट हराएको मोटरसाइकल फेला,धनीलाई हस्तान्तरण
काठमाडौं।काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रबाट हराएको मोटरसाइकल प्रहरीले फेला पारेर सवारीधनीलाई हस्तान्तरण गरेको छ।
२०८२ साल माघ २२ गते हराएको उक्त मोटरसाइकल माघ २३ गते राति करिब ८ बजे गस्तीमा खटिएको जितपुर धर्मस्थली प्रहरी चौकीको टोलीले फेला पारेको हो। प्रहरीका अनुसार तारकेश्वर नगरपालिका अन्तर्गत पदमशाल युनाइटेड स्कुलको पछाडिपट्टि रहेको झाडीमा बेवारिसे अवस्थामा मोटरसाइकल भेटिएको थियो।
प्रहरी नायब निरीक्षक भुवनजर्गा मगरको नेतृत्वमा खटिएको टोलीले मोटरसाइकल फेला पारी चौकीमा ल्याएर सुरक्षित राखेको थियो। त्यसपछि गरिएको अनुसन्धान तथा कागजात जाँचपछि मोटरसाइकलका धनी बुद्धिमान तामाङलाई सम्पूर्ण कागजात प्रमाणीकरण गरी २०८२ साल माघ २६ गते हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले सवारी साधन हराएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ।












