आमाले घरसहितको जग्गा छोरीको नाममा पास गरिदिएको रिसमा दम्पतीद्वारा आफ्नै ८ महिने छोराको घाँटी रेटेर हत्या – Sagarmathapana:: Online News Portal

आमाले घरसहितको जग्गा छोरीको नाममा पास गरिदिएको रिसमा दम्पतीद्वारा आफ्नै ८ महिने छोराको घाँटी रेटेर हत्या

   २०७८ भाद्र २९ गते  

रुपन्देहीको गैडहवा गाउँपालिका(६ मा एक दम्पतीले आफ्नै ८ महिने छोराको घाँटी रेटेर हत्या गरेको प्रहरीले दावी गरेको छ।शनिबार बिहान १ बजे बाहिरबाट कोही आएर आफ्नो छोरा सुरजको हत्या गरेको भन्दै श्रीराम मल्लाह र उनकी श्रीमती रेनु मल्लाह चिच्याएका थिए। अनुसन्धानपछि श्रीराम र रेनुले नै आफ्नै छोराको हत्या गरेको देखिएको रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।

‘घरको छतमा गएर आमाले बच्चालाई काखमा लिएको र बाबुले हँसियाले दुईतीनपटक घाँटी काटेको पाइएको छ। छोरालाई मारेर आफू पनि मर्ने उनीहरुको योजना रहेछ। तर छोरा मारिसकेपछि त्यसलाई कपडामा बेरेर कोठामा ल्याएपछि बाहिरबाट कोही आएर हत्या गरी भागेको भन्दै चिच्याएका रहेछन्’, प्रहरी नायब उपरीक्षक थापाले भने।

त्यस घरमा श्रीराम आफ्नी आमा, विवाहित जेठी दिदी र उनका दुई छोरासहित बस्दै आएका थिए। घटनाको अघिल्लो दिन श्रीरामकी आमा भानुमती मल्लाहले घर रहेको ११ धुर जग्गा जेठी छोरीको नाममा पास गरिदिएकी थिइन्। आमा भानुमतीको उक्त निर्णयले उनका एकमात्र छोरा श्रीराम र उनकी श्रीमती रेनु खुसी थिएनन्।

‘जग्गा पास भएपछि साँझ घरमा मदिरा सेवनसमेत भएको देखिन्छ’, थापाले भने। प्रहरीका अनुसार श्रीमानले अर्की लिएर हिँडेपछि तीन छोरी र एक छोरा हुर्काउने जिम्मा भानुमतीको काँधमा आएको थियो। तर २०६३र६४ सालमा मात्र उनले नागरिकता बनाएकी थिइन्। त्यतिबेला नागरिकता बनाउँदा उनले आफू विवाहित रहेको, छोराछोरी रहेको बारे केही उल्लेख नगरेको प्रहरीले जनाएको छ।

‘त्यही कारण छोरा श्रीरामको नागरिकता थिएन। नेपाली केटासँग विवाह गरेपछि जेठी छोरीको चाहीँ नागरिकता बनेको रहेछ। बुहारी रेनुसँग नेपाली नागरिकता भएपनि भानुमतीले उनको नाममा जग्गा पास गर्न डराएको देखिन्छ। यही कारण आमाले आफूहरुप्रति गरेको व्यवहार दुनियाँले देखोस् भनेर छोराको हत्या गर्ने र आफू पनि मर्ने योजना श्रीराम र सुरजले बनाएका रहेछन्,’ प्रहरीले भनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै