मिस युनिभर्स नेपाल २०२६ को ग्रान्ड अडिसन सम्पन्न,६५ प्रतिस्पर्धीबाट २५ जना छनोट हुँदै
काठमाडौं।दिपल प्रस्तुत ‘मिस युनिभर्स नेपाल २०२६’ को काठमाडौं ग्रान्ड अडिसन शुक्रबार सम्पन्न भएको छ। देशभरबाट छनोट हुँदै काठमाडौं आएका ६५ जना प्रतिस्पर्धीले अडिसनमा आफ्नो आत्मविश्वास, प्रतिभा, व्यक्तित्व तथा प्रस्तुतीकरण क्षमता प्रदर्शन गरेका छन्।
अडिसनमा सहभागी ६५ प्रतिस्पर्धीमध्ये २५ जना अर्को चरणका लागि छनोट हुने आयोजकले जनाएको छ। ग्लोबल ग्ल्यामर भेन्चर प्रा.लि.को आयोजनामा भइरहेको प्रतियोगितामा दिपल शीर्ष प्रायोजकका रूपमा रहेको छ।

यस वर्ष प्रतियोगिताको मूल नारा ‘Perfect As You Are’ रहेको छ। नाराले सहभागीलाई सौन्दर्यको निश्चित मापदण्डमा सीमित नभई आफ्नै मौलिक पहिचान, व्यक्तित्व र आत्मविश्वासलाई आत्मसात् गर्न प्रेरित गर्ने आयोजकको भनाइ छ।
ग्रान्ड अडिसनमा देशका विभिन्न स्थानबाट आएका प्रतिस्पर्धीले निर्णायक मण्डलसमक्ष आफ्नो क्षमता प्रस्तुत गरेका थिए। दिपलका प्रबन्ध निर्देशक विवेक सिकारियाले वास्तविक सुन्दरता भनेको आफूजस्तो हुनुमा आत्मविश्वासका साथ अघि बढ्नु रहेको बताउनुभयो।
मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले प्रतियोगिताले सहभागी युवतीहरूलाई प्रतिभा प्रस्तुत गर्ने र आफ्ना विचार व्यक्त गर्ने अवसर प्रदान गर्दै सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो।
काठमाडौं अडिसन सम्पन्न भएसँगै आयोजकले आगामी दिनमा सहभागीहरूको मूल्याङ्कन गरी अर्को चरणका लागि २५ जना प्रतिस्पर्धी छनोट गर्नेछ। प्रतियोगिताको अन्तिम विजेताले अन्तर्राष्ट्रिय मञ्चमा आयोजना हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।












