थाइल्यान्डको विद्यालयमा विद्यार्थीले चलाए गोली, शिक्षकको मृत्यु, चार घाइते
काठमाडौँ।थाइल्यान्डको राजधानी बैंककको बाहिरी क्षेत्रमा रहेको एक विद्यालयमा शुक्रबार विद्यार्थीले गोली चलाउँदा एक शिक्षकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
नोन्थाबुरी प्रान्तको बाङ क्रुई जिल्लास्थित देब्सिरिन नोन्थाबुरी विद्यालयमा भएको घटनामा एक शिक्षक र तीन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ। गोली चलाउने विद्यार्थी पनि सोही विद्यालयमा अध्ययनरत रहेको र घटनापछि उनले आत्महत्या गरेको अधिकारीहरूले बताएका छन्।


घटनालगत्तै प्रहरी तथा आपत्कालीन उद्धारकर्मी विद्यालय पुगेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा विद्यार्थीहरू विद्यालयबाट बाहिरिँदै गरेको तथा विद्यालय परिसरमा एम्बुलेन्स र उद्धारकर्मी परिचालन भएको देखिएको छ।
जिल्ला प्रशासनका अनुसार सन् २०२५ को शैक्षिक वर्षमा उक्त विद्यालयमा करिब ३ हजार १०० विद्यार्थी र १४७ शिक्षक रहेका थिए।


थाइल्यान्डमा विद्यालयमा गोली चलाइएको यो पछिल्लो घटना हो। यसअघि फेब्रुअरीमा दक्षिणी थाइल्यान्डको हात याईस्थित एक विद्यालयमा गोली चल्दा एक शिक्षकको मृत्यु हुनुका साथै एक विद्यार्थी घाइते भएका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। गोली चलाउनुको कारण तथा विद्यार्थीले हतियार कसरी प्राप्त गरे भन्नेबारे तत्काल विस्तृत विवरण सार्वजनिक गरिएको छैन।













