विश्व आदिवासी दिवसका लागि नेफिनको अन्तिम तयारी,काठमाडौंमा ५० हजार सहभागी हुने अपेक्षा – Sagarmathapana:: Online News Portal

विश्व आदिवासी दिवसका लागि नेफिनको अन्तिम तयारी,काठमाडौंमा ५० हजार सहभागी हुने अपेक्षा

   २०८३ श्रावण २२ गते  



काठमाडौं।नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस देशभर भव्य रूपमा मनाउने तयारी पूरा भएको जनाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घले यस वर्ष ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो।

नेफिनका अनुसार साउन २४ गते बिहान ११ बजेदेखि काठमाडौंको भृकुटीमण्डपबाट मौलिक जातीय भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी र परम्परागत नृत्यसहित विशाल र्‍याली निकालिनेछ। र्‍याली भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै टुँडिखेलस्थित खुला मञ्चमा पुगेर मूल समारोहमा परिणत हुनेछ।

कार्यक्रममा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाबाट हजारौँ आदिवासी जनजाति प्रतिनिधि, जातीय संस्था, युवा, महिला, विद्यार्थी, कलाकार तथा सांस्कृतिक समूहहरूको सहभागिता रहने जनाइएको छ। मूल समारोहमा उपराष्ट्रपतिसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सांसद, कूटनीतिक नियोग, विकास साझेदार, नागरिक समाज तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।

समारोहमा नेवार, मगर, तामाङ, शेर्पा, थकाली, राजवंशी, माझी, सुनुवार, थामीलगायत विभिन्न समुदायका मौलिक नृत्य, गीत, बाजागाजा र सांस्कृतिक प्रस्तुति रहनेछन्। साथै आदिवासी समुदायका रैथाने परिकार, हस्तकला, स्थानीय उत्पादन, भेषभूषा र सांस्कृतिक सम्पदाको प्रदर्शनी तथा फुड फेस्टिभल पनि आयोजना गरिनेछ।

करिब ५० हजार सहभागी हुने अनुमान गरिएकाले मोबाइल सञ्चार सेवा सहज बनाउन नेपाल टेलिकमको ‘सेल अन ह्विल्स’ सेवा सञ्चालन गरिने र ६० देशका पत्रकारहरूको सहभागितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको नेफिनले जनाएको छ।

महासङ्घका अध्यक्ष निमा लामा ह्योल्मोले नेपालको सांस्कृतिक, भाषिक तथा जातीय विविधता राष्ट्रको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै आदिवासी जनजातिको संवैधानिक तथा कानुनी अधिकारको प्रभावकारी कार्यान्वयनमा राज्य अझै गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै