दोस्रो ग्याल्पो ल्होसार कप स्नुकर प्रतियोगिता अर्को वर्षका लागि स्थगित – Sagarmathapana:: Online News Portal

दोस्रो ग्याल्पो ल्होसार कप स्नुकर प्रतियोगिता अर्को वर्षका लागि स्थगित

   २०८२ फाल्गुन ४ गते  

काठमाडौं।कपनस्थित बेस क्याम्प स्नुकर एण्ड रेस्टुरेन्ट द्वारा आयोजना हुँदै आएको ‘ग्याल्पो ल्होसार कप स्नुकर प्रतियोगिता’को दोस्रो संस्करण आगामी वर्षका लागि स्थगित गरिएको छ। आयोजकले यस वर्ष निर्वाचन लगायत विभिन्न कारणले प्रतियोगिता सञ्चालन गर्न नसकिएको जनाएको छ।

रेस्टुरेन्टका अध्यक्ष पासाङ शेर्पाका अनुसार प्रतियोगिताको पहिलो संस्करण सन् २०२५ मा सफलतापूर्वक सम्पन्न भएको थियो। तर यस वर्ष निर्वाचनका कारण धेरै सहभागी तथा समुदायका सदस्यहरू गाउँमै व्यस्त रहने भएकाले प्रतियोगिता आयोजना गर्न असहज भएको उनले बताए।

उनले भने, “यस पटक हामीले प्रतियोगिता आयोजना गर्न सकेनौं। धेरैजसो मानिसहरू निर्वाचनका कारण गाउँमै हुनुहुन्छ, त्यसैले यो वर्षका लागि प्रतियोगिता स्थगित गरेका हौं। आगामी वर्ष गत वर्षभन्दा अझ भव्य र व्यवस्थित रूपमा प्रतियोगिता आयोजना गर्नेछौं। सकेसम्म अघिल्लो संस्करणभन्दा बढी खेलाडी सहभागी गराउने हाम्रो योजना छ। त्यसका लागि अहिले देखिनै तयारी सुरु गरेका छौं।”

उनका अनुसार आगामी वर्ष पुरस्कार राशिमा समेत वृद्धि गरिनेछ। खेलाडीहरूलाई तयारी अवस्थामा रहन उनले आग्रह गरेका छन्।

गत वर्ष सम्पन्न पहिलो संस्करणमा ६४ जना खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा चोपेल शेर्पाले उपाधि जित्दै नगद १ लाख १० हजार रुपैयाँ पुरस्कार हात पारेका थिए। ल्हाक्पा छिरिङ शेर्पा प्रथम उपविजेता बनेका थिए भने निमानुर्बु शेर्पा र फुरी शेर्पाले संयुक्त रूपमा द्वितीय उपविजेता स्थान हासिल गरेका थिए।

अध्यक्ष शेर्पाले ग्याल्पो ल्होसारको अवसरमा शेर्पा समुदायबीच एकता प्रवर्द्धन गर्ने र खेल संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनका अनुसार स्नुकर पनि एक प्रकारको व्यायाम भएकाले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने योजना रहेको छ।

गत वर्ष विभिन्न प्रायोजकहरूको सहयोगमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ व्यापक सहयोगको अपेक्षा रहेको बताए।

फोटो : फुर्वा शेर्पा / एभरेस्ट न्युज

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै