यूएई।तामाङ समाज यूएईले आफ्नो २१औँ वार्षिक साधारणसभाको अवसर पारेर ‘तामाङ प्रतिभाको खोजी’ कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी ४ अक्टोबर २०२६ मा एसके ७ क्लबको सभाहलमा आयोजना हुने कार्यक्रममा गायन, नृत्य तथा मिस एण्ड मिस्टर तामाङ यूएई प्रतियोगिता समावेश गरिने आयोजकले जनाएको छ।

![]()
दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा यूएईमा रहेका तामाङ समुदायभित्रका प्रतिभाको पहिचान, प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्य राखिएको छ। तामाङ समाज यूएईका महासचिव सबिन मोक्तानका अनुसार हालसम्म गायन, नृत्य तथा मिस एण्ड मिस्टर तामाङ विधामा गरी २७ जना प्रतियोगीले नाम दर्ता गराइसकेका छन्।
‘प्रतिभाको खोजी, प्रतिभाको सम्मान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रमले यूएईमा रहेका तामाङ युवायुवतीलाई आफ्नो कला, क्षमता र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।


कार्यक्रममा सहभागी हुन इच्छुक तामाङ समुदायका दाजुभाइ तथा दिदीबहिनीलाई आयोजकले उपलब्ध गराएको अनलाइन आवेदन फाराममार्फत समयमै नाम दर्ता गराउन आग्रह गरिएको छ।
आयोजकका अनुसार कार्यक्रममार्फत नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुका साथै यूएईमा तामाङ कला, संस्कृति र पहिचानलाई थप सशक्त बनाउने उद्देश्य राखिएको छ। प्रवासमा रहेका तामाङ समुदायका युवापुस्तालाई आफ्नो मौलिकता र प्रतिभासँग जोड्ने माध्यमका रूपमा कार्यक्रमलाई अघि बढाइएको आयोजकको भनाइ छ।



