काठमाडौं।गायक चक्र बमको नयाँ गीत ‘बडिमालिका माइ’ यतिबेला सामाजिक सञ्जालमा चर्चामा आएको छ। सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकालाई केन्द्रमा राखेर तयार गरिएको गीतले दर्शक–श्रोताको ध्यान तानेको हो।
गीतमा बडिमालिकाको प्राकृतिक तथा धार्मिक महत्त्वसँगै सुदूरपश्चिमको मौलिक संस्कृति र देउडा परम्परालाई प्रस्तुत गरिएको छ। गीत सार्वजनिक भएपछि धेरैले चक्र बमले बडिमालिकाको पर्यटन प्रवर्द्धनसँगै सुदूरपश्चिमको कला, संस्कृति र पहिचानलाई गीतमार्फत उजागर गरेको भन्दै प्रशंसा गरिरहेका छन्।

विशेषगरी बडिमालिकाको आकर्षक दृश्य, स्थानीय सांस्कृतिक पक्ष र देउडाको प्रस्तुतिले गीतलाई थप हेर्नलायक बनाएको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएको छ। नयाँ गीतले बडिमालिका घुम्न चाहने दर्शकको चासोसमेत बढाउन सक्ने अपेक्षा गरिएको छ।
सुदूरपश्चिमको मौलिकता र पर्यटकीय सम्भावनालाई संगीतमार्फत व्यापक दर्शकमाझ पुर्याउने प्रयासका रूपमा ‘बडिमालिका माइ’लाई हेरिएको छ। गीतले पछिल्लो समय अनलाइन तथा सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलिरहेको छ।


