पोखरा।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित अन्तर्राष्ट्रिय उडानको नयाँ अध्याय सुरु हुँदैछ।फ्लाईदुबईको पहिलो नियमित व्यावसायिक उडान आज,सेप्टेम्बर २३ गते साँझ ६:१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ।
![]()

लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरामा फ्लाईदुबईको उडान सुरु भएसँगै अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ।नियमित अन्तर्राष्ट्रिय उडानले पोखराको पर्यटन प्रवर्द्धन तथा विदेशी पर्यटकको आगमनमा थप सहजता ल्याउने विश्वास गरिएको छ।
यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई) मा शोक अवधि घोषणा गरिएकाले पोखरा महानगरपालिकाले आज हुने भनिएको औपचारिक स्वागत समारोह भने रद्द गरेको जनाएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार औपचारिक स्वागत कार्यक्रम रद्द भए पनि फ्लाईदुबईको उडान भने पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुनेछ।
फ्लाईदुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानलाई स्वागत गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन महानगरले पोखरेली तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
उडान विवरण:
मिति: सेप्टेम्बर २३ (असोज ७)
समय: साँझ ६:१५ बजे
स्थान: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
फ्लाईदुबईको नियमित उडान सुरुवातसँगै पोखराले अन्तर्राष्ट्रिय हवाई सम्पर्कको क्षेत्रमा नयाँ फड्को मार्ने अपेक्षा गरिएको छ।



