मेनु
Flash News

लाइसेन्स अब घरमै आउने:लिन यातायात कार्यालय धाउन नपर्ने

काठमाडौ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरणलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले सरकारका तीन निकायबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतापछि सेवाग्राहीले सम्बन्धित यातायात कार्यालयमै पुगेर लाइसेन्स लिनुपर्ने बाध्यता हट्ने भएको छ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच मंगलबार मन्त्रालयमा सम्झौता भएको हो। उनले सामाजिक सञ्जालमार्फत सम्झौताबारे जानकारी दिएका छन्

नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागको ‘विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (EDLVSRS)’ बाट जारी हुने लाइसेन्ससम्बन्धी विवरण सिधै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पठाइनेछ। सोही विवरणका आधारमा केन्द्रले लाइसेन्स छपाइ गर्नेछ।

डाटा आदानप्रदानलाई प्रत्यक्ष प्रणालीमा जोडिएपछि लाइसेन्स छपाइका क्रममा देखिने प्राविधिक समस्या तथा डाटा पठाउन लाग्ने समय कम हुने अपेक्षा गरिएको छ।

सुरक्षण मुद्रण केन्द्रबाट छापिएका लाइसेन्स हुलाक सेवा विभागमार्फत सम्बन्धित प्रदेश कार्यालयमा पठाइनेछ। त्यसपछि सेवाग्राहीले आफूले उपलब्ध गराएको ठेगानामै लाइसेन्स प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने जनाइएको छ।

यस व्यवस्थाले लाइसेन्स वितरण प्रक्रियालाई थप छरितो बनाउनुका साथै सेवाग्राहीको समय र कार्यालय धाउनुपर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ।