सोफी मोर्गनको नेपाल यात्रा: नेपाललाई पहुँचयोग्य पर्यटन विस्तारमा जोड,समावेशी पर्यटनको सम्भावनाबारे छलफल
काठमाडौं।बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरोकारवालाबीच थप सहकार्य, भरपर्दो सूचना र पहुँचयोग्य पूर्वाधार आवश्यक रहेको बताएकी छन्
![]()

काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित “जर्निज विथआउट ब्यारियर्स: सोफी मोर्गन इन नेपाल (Journeys Without Barriers: Sophie Morgan in Nepal)” कार्यक्रममा मोर्गनले आफ्नो हालैको नेपाल यात्राका अनुभव सुनाउँदै अपाङ्गता भएका पर्यटकका लागि नेपालका पर्यटन अनुभवलाई थप पहुँचयोग्य बनाउन सकिने उपायबारे आफ्ना धारणा राखेकी हुन् ।

![]()
![]()
इम्प्याक्ट एड्भेन्चरसँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले आयोजना कार्यक्रममा पर्यटन व्यवसायी, सरकारी प्रतिनिधि, होटल तथा आतिथ्य क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा अपाङ्गता र पहुँचयोग्यताका क्षेत्रमा कार्यरत अभियन्ताहरूको सहभागिता थियो ।मोर्गनले हालै इम्प्याक्ट एडभेन्चरसँग काठमाडौं, पोखरा र उपल्लो मुस्ताङको यात्रा गरेकी थिइन् । साहसिक पर्यटक र ह्विलचेयर प्रयोगकर्ता दुवैका रूपमा गरिएको यस यात्राले यातायात, आवास, पर्यटन अनुभव, पूर्वाधार र आतिथ्य सेवामा पहुँचयोग्यताको अवस्थाबारे प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको थियो ।

आफ्नो यात्राबारे चर्चा गर्दै मोर्गनले नेपालका मानिसहरूको आत्मीयता र यहाँको संस्कृति नेपालको सबैभन्दा ठूलो शक्तिमध्ये एक भएको बताइन् । उनले भनिन्, “नेपालमा यस्ता यात्राहरू सम्भव बनाउने क्षमता छ, जुन अपाङ्गता भएका धेरै व्यक्तिले आफ्नो पहुँचभन्दा बाहिरको कुरा ठानेका हुनसक्छन् । यो यात्राभर मलाई सबैभन्दा बढी प्रभावित गरेको कुरा यहाँका मानिसहरूको आत्मीयता, सद्भाव र आतिथ्य भाव हो । त्यो भावना नेपालको ठूलो शक्ति हो । यसलाई अझ राम्रो पहुँचयोग्यता, भरपर्दो सूचना र स्पष्ट योजनासहित अघि बढ्ने हो भने नेपालले अपाङ्गता भएका पर्यटकलाई साँच्चिकै असाधारण यात्रा अनुभव प्रदान गर्न सक्छ ।


संवादका क्रममा मोर्गनले पहुँचयोग्य पर्यटनको जिम्मेवारी व्यक्तिगत पर्यटन व्यवसाय वा टुर अपरेटरको मात्र हुन नसक्ने बताइन् । यसका लागि सरकार, पर्यटन व्यवसाय, निजी क्षेत्र र स्थानीय अपाङ्गता समुदायबीच समन्वय र सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो । उनले थपिन्,“पहुँचयोग्य पर्यटन व्यक्तिगत टुर अपरेटरहरूको मात्र जिम्मेवारी हुन सक्दैन । यसका लागि पर्यटन क्षेत्र, सरकार, व्यवसाय र स्थानीय अपाङ्गता समुदायले मिलेर पहुँचयोग्य पूर्वाधारमा लगानी गर्न, नियमित रूपमा अपाङ्गता सचेतना तालिम सञ्चालन गर्न र संरचनागत अवरोधहरू हटाउन आवश्यक छ । नेपालसँग पहुँचयोग्य पर्यटनलाई एउटा सीमित वा विशिष्ट बजारका रूपमा मात्र नभई पर्यटक, व्यवसाय र समुदाय सबैलाई लाभ पुर्याउन सक्ने समग्र पर्यटन क्षेत्रको अवसरका रूपमा हेर्नुपर्दछ ।
छलफलमा पहुँचयोग्यता भौतिक पूर्वाधारमा मात्र सीमित नहुने विषयमा जोड दिइएको थियो । मोर्गनले भनिन्, “मेरो लागि पहुँचयोग्यता अन्ततः स्वतन्त्रता, आफ्नो निर्णय आफैं गर्ने अधिकार र छनोटसँग सम्बन्धित छ- अर्थात् आफ्नै सर्तमा सहभागी हुन सक्ने क्षमता । सबै भौतिक अवरोध रातारात हटाउन सम्भव नहुन सक्छ, तर स्पष्ट, विस्तृत र इमानदार सूचना उपलब्ध गराउँदा अपाङ्गता भएका पर्यटकले आफूले के अपेक्षा गर्ने भन्ने बुझ्न र आफ्नै निर्णय लिन सक्छन् । कहिलेकाहीँ राम्रो सूचना उपलब्ध गराउनु नै यात्रालाई थप समावेशी बनाउने सबैभन्दा सरल र प्रभावकारी कदममध्ये एक हुन सक्छ ।
नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले मोर्गनको नेपाल यात्राले विश्वभरका फरक क्षमता भएका पर्यटकहरुलाई प्रेरित गरेको बताए । उनले थपे, “नेपालको कास्कीमा पहिलो प्रमाणित पहुचयोग्य गन्तव्यको रुपमा विकास गरिएको छ । बोर्डले यस्ता गन्तव्य पहिचान गर्दै पूर्वाधार निर्माणमा पनि पहल गरिरहेको छ । गन्तव्यको योजनालाई थप समावेशी बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न बोर्ड तयार छ ।”
इम्प्याक्ट एडभेन्चरका प्रमुख कार्यकारी अधिकृत पंकज प्रधानाङ्गले मोर्गनको नेपाल यात्रा र यस कार्यक्रमको उद्देश्य नेपालको पर्यटन उद्योगलाई थप समावेशी बनाउने विषयमा व्यापक संवाद अघि बढाउनुका साथै साहसिक पर्यटन र पहुँचयोग्यता एकअर्काका विरोधाभासी विषय नभएको सन्देश दिनु रहेको बताए।
अगस्ट ३० देखि सुरु भएको यात्रा सेप्टेम्बर ११, २०२६ सम्म काठमाडौं, पोखरा र उपल्लो मुस्ताङसम्म समेटिएको थियो।यस यात्राले नेपाललाई पहुँचयोग्य तथा समावेशी साहसिक पर्यटनको उदीयमान गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यससम्बन्धी कथा तथा अनुभव प्रस्तुत गर्नसमेत योगदान पुर्याउने विश्वास गरिएको छ ।












