काठमाडौं।नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
महासंघले २०८३ मंसिर १ गते जारी गरेको विज्ञप्तिमार्फत पत्रकारमाथि समाचार कक्षमै प्रवेश गरी प्रहरीले धरपकड गरेको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउने व्यक्तिमाथि हालसम्म कारबाही नभएको भन्दै आपत्ति जनाएको छ।
त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको महासंघको आरोप छ।
सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको निष्कर्षसहित महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

आन्दोलनका कार्यक्रम सार्वजनिक
महासंघले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउनेछ। मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम रहेको छ।
यसैगरी, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल गर्ने तथा मंसिर ७ गते देशभरका जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने महासंघले जनाएको छ।
देशभरका जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा भेला हुने कार्यक्रम तय गरिएको छ। उक्त भेलामा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित विरोध प्रदर्शन गरिने महासंघले जनाएको छ।
महासंघले घोषित कार्यक्रमबाट माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनीसमेत दिएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको रक्षाका लागि आन्दोलनमा सहभागी हुन आह्वान गरिएको छ।






