EN
मेनु
Flash News

साइलेन्सर र स्वरूप परिवर्तन गर्ने मोटरसाइकलमाथि ट्राफिक प्रहरीको एक्सन, ४०५ मोटरसाइकल कारबाहीमा

काठमाडौं।चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरेर सञ्चालन गरिएका मोटरसाइकलविरुद्ध काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारबाही अभियानलाई तीव्र बनाएको छ । पछिल्लो एक सातामा मात्रै प्रहरीले नियमविपरीत सञ्चालन गरिएका ४०५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीका अनुसार कम्पनीले जडान गरेको साइलेन्सर परिवर्तन गर्ने, डिबी किलर हटाउने तथा सवारीसाधनको स्वरूपमा आफूखुसी परिवर्तन गर्ने प्रवृत्ति बढेको पाइएको छ ।

विशेषगरी मोटरसाइकलको सिट, रङ, ह्यान्डल तथा लाइटिङ सिस्टम परिवर्तन गरी सडकमा सञ्चालन गर्ने गरेको भेटिएपछि प्रहरीले निगरानी र कारबाहीलाई थप कडा बनाएको हो ।

यस्ता मोटरसाइकलबाट निस्कने चर्को आवाजले ध्वनि प्रदूषण बढाउनुका साथै सर्वसाधारणलाई समेत असहज बनाउने गरेको छ । ट्राफिक प्रहरीले सवारीसाधनलाई कम्पनीले तोकेको मापदण्डअनुसार नै सञ्चालन गर्न र गैरकानुनी रूपमा स्वरूप परिवर्तन नगर्न चालकलाई आग्रह गरेको छ ।

नियमविपरीत सञ्चालन गरिएका मोटरसाइकलमाथि आगामी दिनमा पनि निगरानी तथा कारबाहीलाई निरन्तरता दिने प्रहरीले जनाएको छ।