EN
मेनु
Flash News

नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र, पहिलो संस्करणमै ५०० बढी विदेशी फिल्म प्राप्त

काठमाडौं।नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने र नेपाललाई विश्व चलचित्र निर्माणको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको नेपाल ग्लोबल फिल्म फेस्टिभल (NGFF) २०२७ को तयारी तीव्र पारिएको छ। आगामी फेब्रुअरी १९ देखि २२ (फागुन ७ देखि १० गते) सम्म काठमाडौंमा आयोजना हुने महोत्सवको पहिलो संस्करणमै विश्वका विभिन्न देशबाट ५०० भन्दा बढी चलचित्र प्राप्त भएका छन्।

नेपाल फिल्म एण्ड मिडिया एकेडेमीको आयोजनामा हुन लागेको महोत्सवमा करिब १०० जना अन्तर्राष्ट्रिय चलचित्रकर्मी, सञ्चारकर्मी तथा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुने अपेक्षा गरिएको छ। ‘हिमालदेखि सागरसम्मका कथाहरूको उत्सव’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा प्राप्त चलचित्रमध्ये करिब १०० वटा उत्कृष्ट चलचित्र छनोट गरी चार दिनसम्म प्रदर्शन गरिनेछ।

चलचित्र छनोटका लागि निर्देशक सुवर्ण थापाको नेतृत्वमा समिति गठन गरिएको छ। छनोट भएका चलचित्रमध्ये उत्कृष्टलाई निर्देशक अशोक शर्माको नेतृत्वमा रहने नेपाली तथा विदेशी जुरीले विभिन्न विधामा नगद पुरस्कारसहित अवार्ड प्रदान गर्नेछन्।

महोत्सवका निर्देशक गणेश पाण्डेले पहिलो संस्करणमै ५०० भन्दा बढी चलचित्र प्राप्त हुनुले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रको नेपालप्रतिको चासो र विश्वास बढेको बताए। नेपाललाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित चलचित्र महोत्सवको केन्द्र बनाउने लक्ष्यसहित आफूहरू अघि बढिरहेको उनको भनाइ छ।

महोत्सवमा फिचर, सर्ट, डकुमेन्ट्री, माउन्टेन, वातावरण, मानवशास्त्र, मानवअधिकार, महिला तथा आदिवासी जनजातिका कथा र संस्कृतिमा आधारित चलचित्र समेटिनेछन्। एनिमेसन, विद्यार्थी चलचित्र र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित चलचित्रलाई समेत विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।

हलिउड, बलिउड तथा चिनियाँ चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वलाई अतिथिका रूपमा सहभागी गराउने तयारी भइरहेको छ। महोत्सव आयोजक समितिका सदस्य फूलमान बलका अनुसार चलचित्र प्रदर्शनसँगै विशेष सम्मान, अन्तरक्रिया, कार्यशाला, प्यानल छलफल र अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम पनि सञ्चालन गरिनेछ।

महोत्सवले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार, नेपाली प्रतिभा तथा सिर्जनाको विश्वव्यापी प्रवर्द्धन र विदेशी चलचित्र निर्माता तथा निर्देशकलाई नेपालमा छायांकनका सम्भावनाबारे जानकारी गराउने लक्ष्य राखेको छ। यसबाट चलचित्र पर्यटन, अन्तर्राष्ट्रिय सहकार्य र विदेशी लगानीको सम्भावना विस्तार हुने अपेक्षा गरिएको छ।

नेपालको प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, सांस्कृतिक विविधता र मौलिक कथालाई विश्व चलचित्र जगत्मा चिनाउँदै काठमाडौंलाई चलचित्र सिर्जना, सहकार्य र सांस्कृतिक आदानप्रदानको अन्तर्राष्ट्रिय केन्द्र बनाउने उद्देश्य पनि महोत्सवले लिएको छ। युनेस्कोको क्रिएटिभ सिटी अफ फिल्मको अवधारणासँग जोडेर महोत्सवलाई अघि बढाउने आयोजकको योजना छ।

महोत्सवलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र संस्था, कूटनीतिक नियोग, शैक्षिक संस्था, पर्यटन क्षेत्र र निजी क्षेत्रसँग सहकार्यका लागि छलफल भइरहेको आयोजकले जनाएको छ।