नुवाकोटलाई आर्थिक–सामाजिक रूपान्तरणको मार्गमा लैजाने डा. प्रकाश शरण महतको प्रतिबद्धता
काठमाडौं।प्रकाश शरण महतले नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। उनले नुवाकोटलाई आर्थिक तथा सामाजिक रूपान्तरणको मार्गमा अघि बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार नुवाकोटको ढिकुरेस्थित सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा उनले आगामी निर्वाचनलाई नेपालको लोकतन्त्र, राजनीतिक स्थिरता र समृद्धिको दिशासँग जोडिएको निर्णायक अवसरका रूपमा व्याख्या गरे।
प्रतिज्ञापत्र सार्वजनिक गर्दै महतले ऐतिहासिक विरासतलाई विकाससँग जोड्ने आवश्यकता औंल्याए। ‘यो भूमिबाट पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको अभियान थालेका थिए, अब यही ऐतिहासिक पहिचानलाई आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्दै नुवाकोटलाई नयाँ पहिचान दिने समय आएको छ,’ प्रतिज्ञापत्रमा उल्लेख छ।
उनले आफू कुराभन्दा काममा विश्वास गर्ने नेता भएको दाबी गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार र जनजीवन सुधारलाई प्राथमिकतामा राख्ने बताए।
पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका महतले यसअघि पनि नुवाकोटको पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान दिएको उल्लेख गरे। उनले मतदातासँग विकास र स्थिरताका पक्षमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्न अपिल गरेका छन्।












