भावुक बने आइजीपी कार्की, गृहमन्त्री गुरुङ उभिएर ताली-प्रहरी सुधारको बहसमा ऐक्यबद्धता – Sagarmathapana:: Online News Portal

भावुक बने आइजीपी कार्की, गृहमन्त्री गुरुङ उभिएर ताली-प्रहरी सुधारको बहसमा ऐक्यबद्धता

   २०८२ चैत्र १७ गते  

काठमाडौं।नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा भावनात्मक क्षण देखिएको छ, जहाँ प्रहरी महानिरीक्षक दानबहादुर कार्की सम्बोधनका क्रममा भावुक बनेपछि गृहमन्त्री सुदन गुरुङ स्वयं उभिएर ताली बजाउँदै समर्थन जनाएका थिए।

आइतबार दिउँसो आयोजित उक्त कार्यक्रममा गृहमन्त्री गुरुङको उपस्थितिमा प्रहरी संगठनको वर्तमान अवस्था, सुधारका प्रयास र विद्यमान चुनौतीबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रमअघि उनले प्रहरी मुख्यालयमा सलामी ग्रहण गर्दै अपराध अनुसन्धानदेखि डिजिटल फरेन्सिकसम्मका विभिन्न शाखाहरूको निरीक्षण गरेका थिए।

सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले तल्लो तहका प्रहरी कर्मचारीहरूले भोग्दै आएको कठिनाइप्रति संवेदनशीलता जनाउँदै सेवा–सुविधा सुधार गरिने प्रतिबद्धता व्यक्त गरे। उनले अनावश्यक राजनीतिक हस्तक्षेप अन्त्य गर्ने स्पष्ट संकेत दिँदै “कसैले दबाब दिए सिधै मलाई खबर गर्नुहोस्, आफ्नै पार्टीका भए पनि छोडिने छैन” भन्ने कडा चेतावनी दिए।

उनले प्रहरी–नागरिक सम्बन्धलाई अझ आत्मीय बनाउन ‘service with smile’ को अभ्यासमा जोड दिँदै आधुनिक प्रहरी निर्माणका लागि नयाँ योजना पनि सार्वजनिक गरे। ती योजनामा आपतकालीन अवस्थामा प्रहरी सवारीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने, ड्रोनमार्फत टियर ग्यास प्रयोग गर्ने तथा आवश्यक सुरक्षा सामग्रीबिना प्रहरी परिचालन नगर्ने व्यवस्था समावेश छन्।

कार्यक्रमको सबैभन्दा मार्मिक क्षण भने आइजीपी कार्कीको सम्बोधनका बेला देखियो। उनले संगठनभित्र बढ्दो दरमा प्रहरी कर्मचारीहरूले जागिर छोड्ने प्रवृत्तिलाई गम्भीर समस्याका रूपमा उठाए। सेवा–सुविधा सुधार, पेन्सन व्यवस्था र सेवा अवधिको पुनरावलोकन आवश्यक रहेको उल्लेख गर्दै बोल्दै जाँदा उनी भावुक बने।

“मेरो पुलिसलाई टिकाउन सकिनँ… यही नै समस्या हो,” भन्दै केहीबेर उनी स्तब्ध भए। उनका आँखा रसाए, आवाज भारी भयो र हलभरि सन्नाटा छायो।

त्यसैबेला गृहमन्त्री गुरुङ अचानक उठेर आइजीपीको समर्थनमा ताली बजाउन थाले। उनले उपस्थित अधिकारीहरूलाई पनि साथ दिन संकेत गरेपछि केही क्षणमै पूरै हल उभिएर तालीले गुञ्जियो।

उक्त ताली औपचारिकताभन्दा पर, संगठनभित्रको पीडा, भावना र ऐक्यबद्धताको प्रतीकका रूपमा देखिएको थियो। तालीपछि फेरि हलमा छाएको सन्नाटाले कार्यक्रमलाई अझ गम्भीर बनाएको थियो।

यो कार्यक्रमले नेपाल प्रहरी भित्रको वास्तविक अवस्था, चुनौती र सुधारको तत्काल आवश्यकता उजागर गरेको निष्कर्ष निकालिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै