काठमाडौं।पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा अनावश्यक ढिलाइ गर्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्न निर्देशन दिएका छन्। निर्धारित कार्यतालिकाअनुसार काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिँदै उनले आयोजना थप लम्ब्याउने पक्षमा सरकार नरहेको स्पष्ट पारेका हुन्।
मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधीन महादेवटार सुरुङमार्गको ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै मन्त्री लम्सालले द्रुतमार्ग निर्माणमा अब कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने बताए। निर्माण व्यवसायीलाई पटक–पटक अवसर र सुविधा उपलब्ध गराउँदा पनि अपेक्षित प्रगति हुन नसकेको उल्लेख गर्दै उनले काममा ढिलाइ गर्ने कम्पनीलाई छुट नदिइने चेतावनी दिए।
उनका अनुसार आयोजना निर्धारित कार्यतालिकाअनुसार अघि बढ्न नसक्ने अवस्था देखिए सम्बन्धित निर्माण कम्पनीसँगको ठेक्का तत्काल तोड्नुपर्नेछ। निर्माणको मुख्य सिजन सुरु भइसकेकाले आगामी जेठसम्म कार्यतालिकाअनुसार ठोस प्रगति देखिनुपर्नेमा उनले जोड दिए।
मन्त्री लम्सालले द्रुतमार्गलाई सडक निर्माणको परियोजनामा मात्र सीमित नराखी नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। आयोजनामा संलग्न नेपाली इन्जिनियर, परामर्शदाता तथा नेपाली सेनाका प्राविधिकले हासिल गर्ने अनुभव भविष्यमा देशका ठूला पूर्वाधार आयोजना निर्माणमा उपयोगी हुने उनको भनाइ छ।
सरकारले आगामी दिनमा ठूला पूर्वाधार आयोजनाको संख्या बढाउने तयारी गरिरहेको जानकारी दिँदै उनले नेपाली प्राविधिकको सीप र दक्षतालाई स्वदेशमै उपयोग गर्ने अवसर विस्तार गरिने बताए।
यसैगरी, विपद् व्यवस्थापन तथा छोटो समयमै बेली ब्रिज निर्माणमा नेपाली सेनाले प्रदर्शन गरेको कार्यक्षमताको पनि उनले प्रशंसा गरे। सेनाको प्राविधिक क्षमता र अनुभवलाई आगामी दिनमा अन्य पूर्वाधार आयोजनामा समेत उपयोग गर्ने सरकारको योजना रहेको उनले उल्लेख गरे।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणमा भइरहेको ढिलाइ अन्त्य गर्न सरकारले निर्माण कम्पनीमाथि दबाब बढाएको छ। मन्त्रीको पछिल्लो निर्देशनले समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कडा कारबाही हुन सक्ने संकेत गरेको छ।






