काठमाडौं।लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेकी छन्। नियुक्त भएको करिब एक महिनापछि बुधबार लुम्बिनी पुगेकी उनले मायादेवी मन्दिरमा पूजाआजा गरी कोषको उपाध्यक्षका रूपमा पदभार ग्रहण गरेकी हुन्।
मायादेवी मन्दिरमा दर्शन तथा पूजाआजा सम्पन्न गरेपछि उनी लुम्बिनी विकास कोषको कार्यालय पुगेकी थिइन्। त्यसपछि उनले कार्यालयमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्दै आफ्नो जिम्मेवारी सुरु गरेकी हुन्।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयपछि नियुक्त भएकी उनले करिब एक महिनापछि औपचारिक रूपमा पदभार सम्हालेकी हुन्।






