काठमाडौं।आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग वित्तीय तथा डिजिटल सेवा क्षेत्रमा १५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ।
नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपअन्तर्गतका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्य र समन्वयको नेतृत्व गर्नेछन्। समूहका कम्पनीहरूमा रहेको विशेषज्ञता, प्रविधि, बजार पहुँच तथा वितरण सञ्जाललाई एकीकृत गर्दै व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु उनको मुख्य जिम्मेवारी हुनेछ।
यसका साथै नयाँ सेवा तथा साझेदारी विकास, ग्राहक अनुभवमा सुधार र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तार गर्ने विषयलाई उनले प्राथमिकतामा राख्नेछन्।
खड्का यसअघि डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत थिए। विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायको नेतृत्व तथा व्यवस्थापनमा समेत अनुभव हासिल गरेका उनी वित्तीय र प्रविधि क्षेत्रका अनुभवी व्यावसायिक नेतृत्वमध्ये एक हुन्।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले खड्कालाई स्वागत गर्दै उनको नेतृत्वमा समूहका कम्पनीहरू थप सशक्त हुने विश्वास व्यक्त गरेका छन्। उनले डिजिटल रूपान्तरणलाई विस्तार र सुदृढ गर्दै नयाँ व्यावसायिक अवसर सिर्जना गर्न खड्काको अनुभव उपयोगी हुने बताए।
नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काले समूहका प्राथमिकता र सरोकारवालाहरूसँगको सहकार्यलाई केन्द्रमा राखेर परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ।






