EN
मेनु
Uncategorized

चक्रवात ‘अर्नब’को प्रभाव : पर्यटकलाई सतर्क रहन पर्यटन बोर्डको आग्रह

काठमाडौं।चक्रवात ‘अर्नब’को प्रभावले देशका विभिन्न क्षेत्रमा भारी वर्षा, चट्याङ, तीव्र हावाहुरी तथा हिमपात हुन सक्ने सम्भावना रहेकाले नेपाल पर्यटन बोर्डले स्वदेशी तथा विदेशी पर्यटक र यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अक्टोबर २९ को रातिदेखि नेपालको मौसम प्रभावित हुने तथा अक्टोबर ३० र ३१ मा विभिन्न क्षेत्रमा भारी वर्षा, चट्याङ र तीव्र हावाहुरीको सम्भावना रहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले पदयात्रा तथा भ्रमणमा विशेष सावधानी अपनाउन बोर्डले अनुरोध गरेको हो ।

वर्षाका कारण पहिरो, आकस्मिक बाढी तथा नदीमा जलसतह बढ्ने जोखिम रहेको छ । यसबाट पहाडी सडक, नदी किनारका यातायात मार्ग तथा सडक र हवाई सेवा प्रभावित हुन सक्ने भएकाले यात्रामा निस्कनुअघि मौसम पूर्वानुमान र सडकको अवस्थाबारे आधिकारिक सूचना लिन बोर्डले आग्रह गरेको छ ।

बोर्डले भारी वर्षाका बेला अत्यावश्यकबाहेकका यात्रा नगर्न, मौसम अनुकूल नहुँदासम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा तय गरिएका पदयात्रा र भ्रमण स्थगित गर्न तथा प्रभावित क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा रहन सुझाव दिएको छ ।

त्यस्तै, नदी किनार, पहिरोको जोखिम भएका भिरालो क्षेत्र तथा अन्य जोखिमयुक्त स्थानबाट टाढा रहन र स्थानीय प्रशासन एवं सुरक्षा निकायका निर्देशन पालना गर्न पनि बोर्डले अनुरोध गरेको छ ।

आपत्कालीन सहायता तथा जानकारीका लागि पर्यटक तथा यात्रुले मौसमसम्बन्धी सूचना लिन ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ र पर्यटक प्रहरी ११४४ मा सम्पर्क गर्न सक्नेछन् ।

पर्यटकको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै पर्यटन बोर्डले आधिकारिक सूचनाको नियमित जानकारी लिन, मौसमको अवस्था मूल्याङ्कन गरेर यात्रा योजना बनाउन तथा प्रतिकूल मौसममा जोखिमपूर्ण यात्रा नगर्न सबैलाई आग्रह गरेको छ ।