शेष घले–जमुना गुरुङको फाउन्डेसनद्वारा बाढीपीडित बालबालिकाको शिक्षाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग घोषणा – Sagarmathapana:: Online News Portal

शेष घले–जमुना गुरुङको फाउन्डेसनद्वारा बाढीपीडित बालबालिकाको शिक्षाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग घोषणा

   २०८३ आश्विन ४ गते  

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यवसायी डा.शेष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेसनले भोटेकोसी बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकाको शिक्षाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

फाउन्डेसनका अनुसार बाढीका कारण अभिभावक गुमाएका तथा शिक्षामा प्रत्यक्ष प्रभाव परेका बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन पूरा गर्न आवश्यक सहयोग उपलब्ध गराइनेछ।

घोषित रकमबाट प्रभावित बालबालिकाको विद्यालय शिक्षालाई निरन्तरता दिनुका साथै शैक्षिक सामग्री, अध्ययन शुल्क तथा शिक्षासँग सम्बन्धित आवश्यक खर्च व्यवस्थापनमा सहयोग गरिने जनाइएको छ।

भोटेकोसी क्षेत्रमा आएको बाढीबाट ठूलो क्षति भएपछि प्रभावित परिवारका बालबालिकाको भविष्य सुरक्षित गर्न फाउन्डेसनले यस्तो सहयोग घोषणा गरेको हो।

फाउन्डेसनले सहयोगलाई सम्बन्धित सरकारी निकाय तथा स्थानीय तहसँगको समन्वयमा अघि बढाउने जनाएको छ। बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा रोकिँदा उनीहरूको भविष्यमा थप असर नपरोस् भन्ने उद्देश्यले सहयोग कार्यक्रम अघि बढाइएको बताइएको छ।

५७ करोड ८५ लाख रुपैयाँको यो सहयोगबाट बाढीपीडित तथा अभिभावकविहीन बालबालिकाले माध्यमिक तहसम्मको शिक्षा निरन्तरता दिन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै