भाट–भटेनीको टंगाल स्टोर असोज ५ देखि पुनः सञ्चालनमा, १२ मध्ये १० स्टोर पुनः खुले
काठमाडौं।आगलागीबाट क्षतिग्रस्त भाट–भटेनी सुपर मार्केटको टंगालस्थित स्टोर आगामी असोज ५ गते सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।
भाट–भटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोरबाट सोही दिनदेखि नियमित रूपमा ग्राहकलाई सेवा प्रदान गरिनेछ। स्टोर पुनः सञ्चालनको अवसरमा असोज ५ गते बिहान ८ बजे परिसरमा विशेष कार्यक्रमसमेत आयोजना गरिने कम्पनीले जनाएको छ।
![]()

कम्पनीका अनुसार आगलागीबाट ठूलो भौतिक क्षति भए पनि १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिइएको छ। आगलागीपछि पुनः सञ्चालनमा आएका स्टोरहरूमा कर्मचारीलाई पुरानै भूमिकामा निरन्तरता दिइएको तथा दसैंमा प्रदान गरिने बोनससमेत कटौती नगरिएको कम्पनीको दाबी छ।
आगलागीपछि तातो खरानी, फलाम तथा इँटा हटाउँदै भाट–भटेनीले एक साताभित्रै पुनःनिर्माणको काम सुरु गरेको जनाएको छ। पूर्णरूपमा क्षतिग्रस्त कोटेश्वर स्टोर पाँच महिनामै पुनः सञ्चालनमा ल्याइएको थियो।

कम्पनीका अनुसार आगलागीबाट प्रभावित १२ वटा स्टोरमध्ये हालसम्म १० वटा पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी दमक र हेटौंडाका स्टोरमा संरचनागत काम, उपकरण जडान तथा आन्तरिक निर्माणको काम भइरहेको छ।
ती दुवै स्टोर पनि पुनःनिर्माणको अन्तिम चरणमा पुगेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ। पुनःनिर्माणका क्रममा चौबीसै घण्टा कामलाई निरन्तरता दिँदै ग्राहकलाई सकेसम्म छिटो सेवा उपलब्ध गराउने प्रयास गरिएको कम्पनीको भनाइ छ।

भाट–भटेनीले पुनःनिर्माणका क्रममा तत्काल सञ्चालनसँगै गुणस्तर र दीर्घकालीन सञ्चालनलाई समेत प्राथमिकता दिइएको जनाएको छ।
यसैबीच, काठमाडौंमा सञ्चालनको तयारीमा रहेको बाल अस्पतालका लागि भाट–भटेनीले गर्दै आएको सहयोगलाई पनि निरन्तरता दिइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उक्त अस्पतालका लागि हालसम्म ७१ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरिएको छ।
नेपाली बालबालिकाले एउटै भवनबाट अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा पाउन सकून् भन्ने उद्देश्यले अस्पतालमा सहयोग गरिएको भाट–भटेनीको भनाइ छ।
कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आधुनिक पूर्वाधार तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कायम रहेको जनाएको छ। साथै, पुनःनिर्माण तथा पुनःसञ्चालनका क्रममा साथ दिने ग्राहक, कर्मचारी, शुभेच्छुक तथा सहयोगी सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ।












