दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल २०२६ मा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्मको सहभागिता
![]()
![]()
प्रबिन किराती,
लन्डन।दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल (NIFF) २०२६ मा भारतको सिक्किम सरकारका स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री जी.टी. ढुंगेल (Gay Tshering ढुंगेल) विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन्।

![]()
आयोजकका अनुसार आगामी २७ सेप्टेम्बर २०२६ मा बेलायतमा आयोजना हुने फेस्टिभलमा मन्त्री ढुंगेलको विशेष उपस्थिति रहनेछ। आदिवासी चलचित्र,कला,संस्कृति तथा सिर्जनशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको फेस्टिभलमा उनको सहभागिताले कार्यक्रमलाई थप महत्त्वपूर्ण बनाउने आयोजकको विश्वास छ।


फेस्टिभलमा सिक्किम आर्ट, कल्चर एन्ड हेरिटेज डेभलपमेन्ट बोर्डका अध्यक्ष सञ्जय राई, सिक्किम म्युजिक, ड्रामा, डान्स एन्ड फिल्म बोर्डका अध्यक्ष तासी छिरिङ भुटिया तथा सिक्किमकी निर्देशक नियारा सुब्बाको समेत सहभागिता रहनेछ।
त्यस्तै, नेपाली चलचित्र क्षेत्रबाट राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री मिरुना मगर, अभिनेत्री गौमाया गुरुङ, सृजना निङलेक्खु र पशुपति राई लगायतका कलाकारहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।


फेस्टिभलमा आदिवासी समुदायका चलचित्र, कला, संस्कृति, भाषा र पहिचानलाई केन्द्रमा राखेर विभिन्न चलचित्र प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ। नेपाल तथा भारतका आदिवासी चलचित्रकर्मी, कलाकार र सांस्कृतिक व्यक्तित्वलाई एउटै मञ्चमा ल्याएर आपसी सम्बन्ध तथा सांस्कृतिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्य रहेको आयोजकको भनाइ छ।
यसैक्रममा दोस्रो NIFF २०२६ तथा NEFIN UK का अध्यक्ष मेजर योगेश कोयी राईले फेस्टिभलका निर्देशक तथा चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण प्रधानलाई स्वागत गर्ने कार्यक्रमसमेत रहेको छ।

फेस्टिभलका निर्देशक अरुण प्रधानका अनुसार आदिवासी समुदायका कथा, पहिचान, संस्कृति र जीवनशैलीलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनका अनुसार फेस्टिभलले आदिवासी चलचित्रकर्मी तथा कलाकारलाई अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउँदै चलचित्र र संस्कृतिको माध्यमबाट समुदायबीचको सम्बन्धलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम विवरण
मिति: २७ सेप्टेम्बर २०२६
चलचित्र प्रदर्शन: बिहान १०:३० बजेदेखि दिउँसो २:३० बजेसम्म
पुरस्कार समारोह: दिउँसो ३:०० बजेदेखि साँझ ७:३० बजेसम्म
स्थान: Empire Banqueting & Hall, High St, Aldershot GU11 1DJ, United Kingdom
दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल २०२६ मा नेपाल तथा भारतका विभिन्न आदिवासी समुदायसँग सम्बन्धित चलचित्र, कलाकार तथा संस्कृतिका विविध पक्ष प्रस्तुत गरिने आयोजकले जनाएको छ।













