हङकङस्थित साझा उद्देश्य आमा समूहद्वारा बाढीपहिरो पीडितका लागि राहत कोषमा सहयोग – Sagarmathapana:: Online News Portal

हङकङस्थित साझा उद्देश्य आमा समूहद्वारा बाढीपहिरो पीडितका लागि राहत कोषमा सहयोग

   २०८३ आश्विन ४ गते  

हङकङ।हङकङको वानचाईस्थित एम्बेसी क्लबमा सक्रिय साझा उद्देश्य आमा समूहले नेपालका बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ।

समूहले २ लाख १६ हजार ८ सय ९० रुपैयाँ सहयोग रकम नेपाल कन्सुलेटमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो।

प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति, सामाजिक एकता र भाइचारालाई निरन्तरता दिँदै आएको साझा उद्देश्य आमा समूहले यसअघि पनि नेपालमा विभिन्न विपद्का समयमा सहयोग गर्दै आएको जनाएको छ।

समूहले विशेषगरी आर्थिक अभावका कारण उपचार गर्न कठिनाइ भएका मिर्गौला फेल भएका बिरामी तथा क्यान्सरका बिरामीलाई प्राथमिकतामा राखेर आर्थिक सहयोग गर्दै आएको छ। समूहले प्रत्येक तीन महिनाको अन्तरालमा आवश्यकताअनुसार सहयोग उपलब्ध गराउँदै आएको बताइएको छ।

साझा उद्देश्य आमा समूहका अनुसार पछिल्लो सहयोग संस्थाको २७औँ सहयोग अभियान हो। नेपालमा आइपर्ने प्राकृतिक विपत्ति तथा मानवीय संकटका समयमा प्रवासमा रहेका नेपाली समुदायले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले समूहले सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको छ।

समूहले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार नेपाल तथा नेपाली समुदायका लागि सामाजिक तथा मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै