२४ दिनदेखि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्तिम संस्कार – Sagarmathapana:: Online News Portal

२४ दिनदेखि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्तिम संस्कार

   २०८३ आश्विन ४ गते  

काठमाडौं।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिका पूर्व कोषाध्यक्ष तथा क्रियाशील पत्रकार टेकराज थामी भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएको २४ दिनपछि परिवारले कुशको आकृति बनाएर अन्तिम संस्कार गरेको छ।

बाढीमा परी बेपत्ता भएका थामीको लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता लाग्न नसकेपछि परिवारले उहाँ जीवितै फर्किनुहुने आशा त्याग्दै आइतबार पशुपति आर्यघाटमा कुशको आकृति बनाएर अन्तिम संस्कार गरेको हो।

परिवारका सदस्य तथा आफन्तहरूले लामो समयसम्म थामी फर्किनुहुने आशा राखेका थिए। तर २४ दिनसम्म कुनै खबर नआएपछि अत्यन्त पीडाका बीच अन्तिम संस्कार गर्नुपरेको परिवारजनले बताएका छन्।

थामीको निधनको पुष्टि हुने गरी शव फेला नपरे पनि हिन्दू संस्कारअनुसार कुशको आकृति बनाएर अन्तिम संस्कार गरिएको हो।

पत्रकारिता क्षेत्रमा सक्रिय थामीको निधनले सहकर्मी तथा शुभेच्छुकहरू शोकमा परेका छन्। उहाँसँग लामो समय सहकार्य गरेका पत्रकार तथा सहकर्मीहरूले थामीको योगदान र आत्मीयताको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सहकर्मीहरूले थामीसँग अझ लामो समय सहकार्य गर्ने र विभिन्न काममा सँगै अघि बढ्ने इच्छा भए पनि उहाँको अभाव अब सधैं खड्किरहने बताएका छन्।

थामीको परिवारमा श्रीमती कालिका र छोरी छन्। शोकसन्तप्त परिवारप्रति पत्रकारिता क्षेत्रका सहकर्मी तथा शुभेच्छुकहरूले समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै