अबुधाबीमा संविधान दिवस मनाईयो : प्राप्त उपलब्धि संरक्षण र सुशासनमा जोड


झण्डोत्तोलन तथा राष्ट्रियगानपछि ज्ञात-अज्ञात शहीदहरूको सम्मानमा एक मिनेट मौनधारण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रममा नेपाली राजदूतावासका कूटनीतिक कर्मचारी तथा परिवारका सदस्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई, नेपाली समाज यूएई, आदिवासी जनजाति महासंघ यूएई, नेपाल पत्रकार महासंघ यूएई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूएई, विभिन्न वैचारिक संगठन तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राजदूततेजबहादुर क्षेत्रीले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानले प्रत्याभूत गरेका हक, अधिकार तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै संघीय लोकतान्त्रिक शासन प्रणालीलाई संस्थागत विकास गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो।राजदूत क्षेत्रीले मुलुकमा दिगो शान्ति, विकास, समृद्धि र सुशासन कायम गर्न सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेको उल्लेख गर्दै नेपाल सरकारले सुशासन तथा समृद्धिका क्षेत्रमा अघि सारेका नीति, कार्यक्रम र विकास निर्माणका कार्यमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले नेपालमा हालै उत्पन्न प्राकृतिक विपत्तिबाट सिर्जित परिस्थितिको सामना गर्न नेपाली समुदाय तथा सम्बन्धित सबै पक्षलाई आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नसमेत आह्वान गर्नुभयो।
कार्यक्रममा एनआरएनए यूएई, नेपाली समाज यूएई, नेपाल पत्रकार महासंघ यूएई लगायत यूएईमा क्रियाशील विभिन्न संघसंस्था तथा वैचारिक संगठनका प्रतिनिधिहरूले संविधान दिवसको अवसरमा आफ्ना धारणा राखेका थिए।वक्ताहरूले संविधानले सुनिश्चित गरेका हक तथा अधिकारको संरक्षण र प्रभावकारी कार्यान्वयनका लागि राज्यका साथै नागरिक समाज, संघसंस्था र प्रवासी नेपाली समुदायले समेत आ-आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा नेपाली समुदायका विभिन्न संघसंस्था, सामाजिक तथा वैचारिक संगठनका प्रतिनिधिसहित करिब ५० जना नेपालीको सहभागिता रहेको थियो।












