निर्मल पुर्जासहित दिवंगत आरोहीको सम्झनामा ठमेल पर्यटन विकास परिषद्ले गर्यो श्रद्धाञ्जली तथा दीप प्रज्वलन
काठमाडौँ।पाकिस्तानस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही स्वर्गीय निर्मल पुर्जा (निम्स दाइ) लगायत दिवंगत आरोहीहरूको सम्झनामा ठमेलमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा शुक्रबार साँझ कर्मचारी सञ्चयकोष भवन अगाडि कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा परिषद्का अध्यक्ष राजुमान डंगोल, महासचिव पशुपति कंडेल, कोषाध्यक्ष किन्चु भुटिया लगायत पदाधिकारी तथा सदस्यहरू र ठमेल क्षेत्रका विभिन्न पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको थियो।



कार्यक्रममा सहभागीहरूले दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको साहस, समर्पण र योगदानको स्मरण गरेका थिए। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।
कार्यक्रममा परिषद्का कोषाध्यक्ष किन्चु भुटियाले नेपालको पर्यटन क्षेत्रमा निर्मल पुर्जाले पुर्याएको योगदान पर्यटन व्यवसायीहरूले कहिल्यै भुल्न नसक्ने बताए। उनले निम्स दाइको निधनले नेपालको पर्यटन क्षेत्रले एक साहसी पर्वतारोहीसँगै मिलनसार र आत्मीय व्यक्तित्वसमेत गुमाएको बताए।

त्यस्तै, परिषद्का अध्यक्ष राजुमान डंगोलले निर्मल पुर्जाजस्तो साहसी पर्वतारोही तथा पर्यटन व्यवसायी र मिलनसार व्यक्तित्व विरलै पाइने बताए। उनले निम्स दाइको निधनले पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनको योगदान र स्मृति सधैँ जीवित रहने बताए।
ठमेल पर्यटन विकास परिषद्ले दिवंगत आरोहीहरूको साहस, समर्पण तथा नेपालको पर्यटन क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवंगत आरोहीहरूको आत्माको चिरशान्तिको कामना गरेका थिए।
















