स्वीट्जरल्यान्डमा नेपाली आईटीको सम्भावना प्रस्तुत, १८ कम्पनीले गरे पिच – Sagarmathapana:: Online News Portal

स्वीट्जरल्यान्डमा नेपाली आईटीको सम्भावना प्रस्तुत, १८ कम्पनीले गरे पिच

   २०८३ आश्विन ५ गते  

काठमाडौं।नेपाली सूचना प्रविधि (आईटी) उद्योगको अन्तर्राष्ट्रिय बजार विस्तार तथा लगानी र व्यावसायिक सहकार्यका अवसर खोज्ने उद्देश्यले स्वीट्जरल्यान्डमा ‘नेपाल टेक रोडशो स्वीट्जरल्यान्ड २०२६’ आयोजना गरिएको छ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) को आयोजना तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा सेप्टेम्बर १६ मा ज्युरिखमा रोडशो सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल र स्वीट्जरल्यान्डका व्यवसायी, प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच नेपाली आईटी उद्योगको सम्भावना, प्रविधि सहकार्य, लगानी र अन्तर्राष्ट्रिय बजार विस्तारका विषयमा छलफल भएको थियो।

रोडशोमा नेपालको बढ्दो आईसीटी क्षेत्र, दक्ष जनशक्ति, डिजिटल नवप्रवर्तन तथा आईटी निर्यातको सम्भावनाबारे प्रस्तुति दिइएको थियो। त्यस्तै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सफ्टवेयर विकास, साइबर सुरक्षा, क्लाउड सेवा, डेटा इन्जिनियरिङ र डिजिटल रूपान्तरणलगायत क्षेत्रमा नेपाली कम्पनीको क्षमता र अनुभव प्रस्तुत गरिएको थियो।

कार्यक्रममा नेपालका १८ वटा आईटी कम्पनीले एक–एक मिनेटको कम्पनी पिचमार्फत आफ्ना सेवा, विशेषज्ञता तथा प्रविधि समाधानबारे जानकारी दिएका थिए।

कम्पनीहरूले एआई, साइबर सुरक्षा, प्रडक्ट डेभलपमेन्ट, आईटी सर्भिसेस, बीपीओ, कस्टम वेब तथा एप्लिकेसन डेभलपमेन्ट, क्लाउड इन्फ्रास्ट्रक्चर र डेटा इन्जिनियरिङलगायत क्षेत्रमा गरेका काम र उपलब्धि प्रस्तुत गरेका थिए।

नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली आईटी उद्योगले अन्तर्राष्ट्रिय बजारमा आफ्नो क्षमता प्रस्तुत गर्दै नयाँ व्यावसायिक अवसर र सहकार्य विस्तार गर्नुपर्ने बताए।

उनका अनुसार नेपाली आईटी कम्पनीका सेवा तथा प्रविधि समाधानलाई विश्व बजारसम्म पुर्‍याउने उद्देश्यले रोडशो आयोजना गरिएको हो।

कार्यक्रममा स्विस नेपाल चेम्बर अफ कमर्सले नेपाल–स्वीट्जरल्यान्डबीचको व्यापार तथा प्रविधि सम्बन्ध र नेपाली आईटी कम्पनी तथा स्वीस व्यवसायबीच सहकार्यका सम्भावनाबारे जानकारी दिएको थियो।

रोडशोका क्रममा सम्भावित व्यावसायिक साझेदारी, लगानी, प्रविधि सहकार्य तथा अन्तर्राष्ट्रिय बजार विस्तारका अवसरबारे पनि छलफल गरिएको थियो।

नास–आईटीले नेपाली प्रविधि उद्योगको अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा विश्व बजारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले विभिन्न देशमा टेक रोडशो आयोजना गर्दै आएको जनाएको छ।

स्वीट्जरल्यान्डमा आयोजित रोडशोलाई नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय व्यवसाय, लगानीकर्ता तथा सम्भावित साझेदारसँग जोड्ने पहलका रूपमा लिइएको छ।

रोडशो स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी) लगायत साझेदार तथा सरोकारवालाको सहयोगमा आयोजना गरिएको थियो। स्विस नेपाल चेम्बर अफ कमर्स सह–आयोजकका रूपमा सहभागी रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै