र्‍यान्समवेयर आक्रमणपछि नेपाली सेयर बजार बन्द, ७२ ब्रोकरको प्रणाली प्रभावित – Sagarmathapana:: Online News Portal

र्‍यान्समवेयर आक्रमणपछि नेपाली सेयर बजार बन्द, ७२ ब्रोकरको प्रणाली प्रभावित

   २०८३ आश्विन ५ गते  

काठमाडौं।डेटा हब प्रालिको डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमण देखिएपछि नेपाली सेयर बजारको नियमित कारोबार प्रभावित भएको छ । ७२ वटा स्टक ब्रोकरको कारोबार प्रणाली सञ्चालन हुन नसकेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारका लागि सेयर कारोबार स्थगित गरेको हो ।

ब्रोकरहरुको प्रणाली सञ्चालनका लागि प्रयोग हुँदै आएको डेटा हब प्रालिको डेटा सेन्टरमा आइतबार बिहानदेखि साइबर सुरक्षा घटना देखिएको थियो । समस्या अझै पूर्ण रूपमा समाधान नभएको र घटनाको वास्तविक असर तथा दायरा मूल्यांकनकै क्रममा रहेकाले थप जोखिम रोक्न कारोबार रोकिएको नेप्सेले जनाएको छ ।

ब्रोकर्स एसोसिएसनको आग्रहपछि नेप्सेले कारोबार स्थगन गरेको हो । एसोसिएसनका अनुसार डेटा हबमा समस्या देखिएपछि त्यहाँ डेटा सेन्टर राखेका ७२ वटा ब्रोकरको प्रणाली प्रभावित भएको थियो ।

ब्रोकरहरुको सिस्टम व्यवस्थापन गर्दै आएको वाइको प्रालिले ब्रोकर्स एसोसिएसनलाई पठाएको जानकारीअनुसार र्‍यान्समवेयर घटनाका कारण टीएमएस, सीडीएससीसँग सम्बन्धित प्रणाली, भुक्तानी गेटवे तथा अन्य आपसमा जोडिएका सेवा प्रभावित हुन सक्ने अवस्था देखिएको छ । जोखिम न्यूनीकरणका लागि प्रभावित प्रणालीलाई तत्काल अलग राखिएको जनाइएको छ।

वाइकोका अनुसार डेटा सेन्टर र नेप्सेबीच नेटवर्क कनेक्टिभिटी रहेकाले साइबर सुरक्षा, सञ्चालन तथा डेटा चोरीसँग सम्बन्धित सम्भावित जोखिमलाई ध्यान दिनुपर्ने अवस्था देखिएको छ । घटनाको वास्तविक असर र दायरा अझै मूल्यांकन भइरहेको अवस्थामा कारोबार सञ्चालन गर्दा थप जोखिम उत्पन्न हुन सक्ने भन्दै कारोबार रोक्न सुझाव दिइएको थियो ।

ब्रोकर्स एसोसिएसनका अध्यक्ष सागर ढकालका अनुसार ७२ वटा ब्रोकरको डेटा सेन्टरमा समस्या देखिएपछि उनीहरुको प्रणाली पनि सञ्चालनमा आउन सकेको छैन । थप सम्भावित जोखिम न्यूनीकरण गर्न नेप्सेलाई कारोबार रोक्न आग्रह गरिएको उनले बताए ।

नेप्सेले जारी गरेको सूचनामा ७२ कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा हब प्रालिको डेटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको उल्लेख छ । समाधानका लागि प्रयास भइरहे पनि समस्या समाधान नभइसकेको र यही अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने भएकाले कारोबार स्थगित गरिएको नेप्सेको भनाइ छ ।

यस घटनाका कारण आजको सेयर कारोबार पूर्ण रूपमा प्रभावित भएको छ । डेटा सेन्टरको समस्या कहिलेसम्म समाधान हुन्छ र मंगलबारदेखि बजार नियमित रूपमा सञ्चालन हुन्छ कि हुँदैन भन्नेबारे भने हालसम्म स्पष्ट निर्णय सार्वजनिक भएको छैन ।

सम्बन्धित निकायहरुले साइबर सुरक्षा घटनाको प्रभाव, जोखिम र प्रणाली पुनःस्थापनाको अवस्थाबारे मूल्यांकन गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै