टनेल २६’ असोज २३ देखि नेपाल र भुटानका हलमा
काठमाडौं।नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी–हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी असोज २३ गतेदेखि नेपाल र भुटानका सिनेमा हलमा प्रदर्शन हुने भएको छ।
चलचित्र निर्माण पक्षले शनिबार आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। चलचित्रलाई लिएर दर्शकमाझ उत्सुकता बढिरहेका बेला यसको ट्रेलर भने सेप्टेम्बर २२ मा काठमाडौंमा विशेष कार्यक्रमबीच सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा भुटानबाट चलचित्रका कलाकार तथा निर्माण टोलीको समेत सहभागिता रहने बताइएको छ।
संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको चलचित्रमा नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिता छ। चलचित्र निर्माणमा निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, संगय छेल्ट्रिम र दोर्जी वाङ्चुकलगायतको सहकार्य रहेको छ।
तीन देशका चलचित्रकर्मीको सहकार्यमा बनेको ‘टनेल २६’ ले जम्बी–हरर विधामार्फत नेपाली तथा भुटानी दर्शकमाझ नयाँ किसिमको सिनेम्याटिक अनुभव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।













