चमेलीको पोई’को ट्रेलर सार्वजनिक, असोज १६ देखि प्रदर्शनमा – Sagarmathapana:: Online News Portal

चमेलीको पोई’को ट्रेलर सार्वजनिक, असोज १६ देखि प्रदर्शनमा

   २०८३ आश्विन ४ गते  

काठमाडौं।नेपाली चलचित्र ‘चमेलीको पोई’को ट्रेलर सार्वजनिक गरिएको छ।एभरेस्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा पारिवारिक तथा सामाजिक कथालाई हास्यरस र मनोरञ्जनको माध्यमबाट प्रस्तुत गरिएको देखिन्छ।

सार्वजनिक ट्रेलरमा मुकुन भुसाल, सुरक्षा पन्त, नारायण त्रिपाठी, विल्सन विक्रम राईलगायतका कलाकारलाई देखाइएको छ। चलचित्रलाई पूर्ण मनोरञ्जनात्मक बनाउने उद्देश्यसहित निर्माण गरिएको निर्देशक बोहराले बताएका छन्।

निर्देशक बोहराका अनुसार चलचित्रले दर्शकलाई भावुक बनाउनेभन्दा पनि हँसाउने र मनोरञ्जन प्रदान गर्ने प्रयास गरेको छ।

चलचित्रका अभिनेता मुकुन भुसालले ‘चमेलीको पोई’ विशुद्ध मनोरञ्जन दिने उद्देश्यले निर्माण गरिएको बताए।फरक शैलीका चलचित्रमा काम गर्दै आएका भुसालले यसपटक दर्शकलाई मनोरञ्जन प्रदान गर्ने कथामा आफू जोडिएको उल्लेख गरे।

अभिनेत्री सुरक्षा पन्तले चलचित्रले हँसाउँदै दर्शकको मन छुने विश्वास व्यक्त गरेकी छन्। चलचित्रमा उनी ‘चमेली’को भूमिकामा देखिएकी छन्।

करिब दुई दशकपछि नेपाली चलचित्रमा फर्किएका अभिनेता नारायण त्रिपाठीले पनि ‘चमेलीको पोई’मार्फत दर्शकमाझ पुनरागमन गरेका छन्। नेपाली चलचित्रमा हास्य कलाकारका रूपमा लोकप्रिय रहेका त्रिपाठीले चलचित्रले दर्शकलाई विभिन्न क्षणमा हँसाउनुका साथै भावनात्मक रूपमा समेत जोड्ने बताए।

धनलक्ष्मी सिने मेक्स प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, प्रेमदेव गिरी, रविन्द्र झा, गणेश गौतम, अंशु महर्जन, तारा शर्मा, रजनी गुरुङ, बाबिन राई, उमेश राई ‘फुलेन्देको आमा’ र खड्का बहादुर पुन मगर ‘खबापु’लगायतको अभिनय रहेको छ।

चलचित्र असोज १६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै