यु–१६ अन्तरविद्यालय बास्केटबल सोमबारदेखि,४० विद्यालय मैदानमा
काठमाडौं।नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ।
प्रतियोगितामा विभिन्न विद्यालयका ४० टोलीले सहभागिता जनाउने आयोजक नेपालय इन्टरनेसनलका अध्यक्ष सुवासचन्द्र प्रधानले जानकारी दिए। आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले विद्यालय तहदेखि नै बास्केटबल खेलको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
प्रधानका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब १८ देखि २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगानाले राष्ट्रिय बास्केटबल टोलीलाई थप बलियो बनाउन उमेरसमूहमा नियमित प्रतियोगिता सञ्चालन गर्नुपर्ने बताए। उनले विद्यालय तहका खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउँदा भविष्यमा राष्ट्रिय टोलीका लागि प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग पुग्ने धारणा राखे।
नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले प्रतियोगिता यु–१६ साबा बास्केटबलका लागि प्रारम्भिक खेलाडी छनोटको आधारसमेत बन्ने बताए।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले नेपाली खेलकुदको विकास र विस्तारमा नेपालय इन्टरनेसनलले गर्दै आएको योगदान प्रशंसनीय रहेको बताए।
प्रतियोगिता संयोजक डिकेश प्रधानका अनुसार प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ। प्रतियोगिता असोज १५ गतेसम्म चल्नेछ।
प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल तथा त्यसैको छेउमा रहेको आउटडोर कोर्टमा सञ्चालन गरिने आयोजकले जनाएको छ।












