काठमाडौंमा रात्रीकालीन बस सेवा विस्तार, पाँच नयाँ रुटमा सञ्चालन – Sagarmathapana:: Online News Portal

काठमाडौंमा रात्रीकालीन बस सेवा विस्तार, पाँच नयाँ रुटमा सञ्चालन

   २०८३ आश्विन ५ गते  

काठमाडौं।साझा यातायातले काठमाडौं उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार गर्दै पाँच वटा नयाँ रुटमा सेवा सञ्चालनमा ल्याएको छ। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित ९ वटा स्थानीय तहको सहकार्यमा रात्रीकालीन सार्वजनिक यातायात सेवा सुरु गरिएको हो।

नयाँ व्यवस्थाअनुसार यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न क्षेत्र जोड्ने गरी पाँच वटा रुट निर्धारण गरिएको छ।

साझा यातायातका अनुसार विमानस्थल–नागढुंगा रुटमा ४ वटा बस सञ्चालन हुनेछन्। त्यस्तै कीर्तिपुर–जमल रुटमा ४ वटा, बुढानीलकण्ठ–गोदावरी रुटमा ६ वटा तथा जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा बस सञ्चालनमा ल्याइनेछ।

त्यसैगरी काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमा गर्ने गरी दुवैतर्फ ८ वटा बस सञ्चालन हुने व्यवस्था गरिएको छ।

रातिको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यो सेवाबाट काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आवतजावत गर्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ।

नयाँ रुटमा सञ्चालन हुने बस सेवाले विशेषगरी ढिलोसम्म काम गर्ने कर्मचारी, विद्यार्थी, व्यवसायी तथा रातिको समयमा यात्रा गर्नुपर्ने यात्रुलाई लाभ पुग्ने विश्वास गरिएको छ।

साझा यातायातले उपत्यकाको सार्वजनिक यातायातलाई थप व्यवस्थित र पहुँचयोग्य बनाउने उद्देश्यले स्थानीय तहसँगको सहकार्यमा रात्रीकालीन सेवा विस्तार गरेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै