महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल
काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटवार्तामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र कांग्रेस नेता विश्वप्रकाश शर्माको सहभागिता रहेको थियो।
संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता तथा सम्बोधनका विषयमा आवश्यक छलफल गर्न प्रधानमन्त्री शाहले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएको बताइएको छ।
छलफलका क्रममा महासभामा नेपालको धारणा, राष्ट्रिय हितसँग जोडिएका विषय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुतीकरणलगायत विषयमा कुराकानी भएको जनाइएको छ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व तथा विभिन्न अन्तर्राष्ट्रिय भेटवार्ता हुने अपेक्षा गरिएको छ।












