प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिने – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिने

   २०८३ भाद्र १० गते  

काठमाडौं।प्रधानमन्त्री बालेन्द्र शाहले आज भदौ १० गते बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भई सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्।

प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ मा महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने व्यवस्था रहेकाले प्रधानमन्त्री शाह संसद्को रोस्ट्रममा उभिन लागेका हुन्। प्रधानमन्त्री पद सम्हालेयता जेठ, असार र साउनमा प्रश्नोत्तरका लागि संसद्मा उपस्थित नभएपछि सभामुख डीपी अर्यालले साउन १ गतेको बैठकबाट प्रधानमन्त्रीलाई अनिवार्य उपस्थितिका लागि रुलिङ गरेका थिए।

आजको प्रश्नोत्तरका लागि रास्वपाका कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटा, कांग्रेसकी वासना थापा, एमालेका ऐनबहादुर महर, नेकपाका वर्षमान पुन, श्रम संस्कृति पार्टीका हर्कराज राई तथा राप्रपाकी खुस्बु ओलीलगायत ११ सांसदले प्रश्न दर्ता गराएका छन्।

यसअघि जेठ १७ गते संसद्मा उपस्थित भएका प्रधानमन्त्री शाहले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति विवादमा परेको थियो। त्यसयता विपक्षी दलहरूले प्रधानमन्त्रीलाई संसद्प्रति जवाफदेही बन्न र प्रतिनिधिसभा नियमावलीको पालना गर्न निरन्तर दबाब दिँदै आएका थिए।

यसैबीच, उज्यालोमा देख्न कठिनाइ हुने समस्याका कारण चिकित्सकको सिफारिसअनुसार संसद् बैठकमा कालो चस्मा तथा ‘कार्बोक्सिमिथाइलसेल्युलोज ०.५ प्रतिशत’ आई ड्रप प्रयोग गर्न अनुमति मागिएको छ। सैनिक अस्पतालका नेत्ररोग विशेषज्ञ डा. सचित ढकालको सिफारिससहितको पत्र संसद् सचिवालयमा दर्ता भएको हो।

सभामुख अर्यालले यसअघि साउन २० गते बसेको कार्यव्यवस्था बैठकमा संसद् बैठकमा कालो चस्मा नलगाउन तथा ड्रेसकोड पालना गराउन दलका प्रमुख सचेतक र सचेतकहरूलाई निर्देशन दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै