१३औँ कृति अवार्डस् २०८३ को घोषणा,३१ विधामा ५५ अवार्डका लागि प्रतिस्पर्धा – Sagarmathapana:: Online News Portal

१३औँ कृति अवार्डस् २०८३ को घोषणा,३१ विधामा ५५ अवार्डका लागि प्रतिस्पर्धा

   २०८३ भाद्र १० गते  

काठमाडौं।नेपालको विज्ञापन उद्योगको प्रतिष्ठित सम्मान ‘कृति अवार्डस् २०८३’ को १३औँ संस्करण आयोजना हुने भएको छ । नेपाल विज्ञापन संघ (आन)को आयोजनामा हुने अवार्डको यसपटकको मुख्य प्रायोजन रेडबुल इनर्जी ड्रिंक्सले गरेको छ । त्यससँगै अवार्डको नाम ‘रेडबुल १३औँ कृति अवार्डस् २०८३’ राखिएको छ ।

आगामी महिना आयोजना हुने अवार्ड समारोहमा विज्ञापन, मार्केटिङ तथा सञ्चार क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने एजेन्सी, सिर्जनाकर्ता र ब्राण्डलाई सम्मान गरिनेछ ।

आयोजनामा नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल, एकोर्याब र ब्रोडकास्टर्स फोरम सहआयोजकका रूपमा सहभागी छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल सरकारको विज्ञापन बोर्डले समेत इन्डोर्समेन्ट तथा सम्बन्धन प्रदान गरेका छन् ।

यस वर्ष टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल र एकीकृत अभियानलगायत गरी ३१ विधामा ५५ वटा अवार्ड प्रदान गरिनेछ । आयोजकका अनुसार डिजिटल, इभेन्ट्स र इन्टिग्रेटेडसहित नयाँ क्षेत्र तथा विधाहरू थप गरिएको छ ।


अवार्डको मूल्यांकनलाई पारदर्शी र विश्वसनीय बनाउन काठमाडौं विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. विजय केसीको अध्यक्षतामा जुरी गठन गरिएको छ । जुरीमा वरिष्ठ सञ्चारकर्मी भारती सिलवाल गिरी, वरिष्ठ मार्केटिङ विज्ञ रवीन्द्रमान श्रेष्ठसहित विभिन्न क्षेत्रका विशेषज्ञहरू रहेका छन् ।

आयोजकका अनुसार अवार्डका लागि मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ । २०८० वैशाख १ गतेदेखि २०८३ असार मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्यलाई प्रतियोगितामा दर्ता गराउन सकिनेछ ।

आनका अध्यक्ष सुदीप थापाले यस वर्ष थप विधा समेटेर विज्ञापन क्षेत्रको सिर्जनात्मकता र मौलिकतालाई प्रोत्साहन गर्न लागिएको बताए । उनका अनुसार कृति अवार्ड्सले नेपाली विज्ञापन बजारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन तथा नेपाली अर्थतन्त्र र विज्ञापन बजारको विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै