सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल, आरोहीको हकहित र परिवारको जिम्मेवारीलाई प्राथमिकता दिने प्रतिबद्धता – Sagarmathapana:: Online News Portal

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल, आरोहीको हकहित र परिवारको जिम्मेवारीलाई प्राथमिकता दिने प्रतिबद्धता

   २०८३ भाद्र १० गते  


काठमाडौं।सगरमाथा आरोही संघ (Everest Summiteers Association–ESA) को नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको विधान २०५७ (संशोधन २०५९) अनुसार मंगलबार सम्पन्न निर्वाचनबाट दिवस पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा दिकी शेर्पा, द्वितीय उपाध्यक्षमा मदनकुमार चुडाल, महासचिवमा शिवबहादुर सापकोटा, सचिवमा छोकी शेर्पा र कोषाध्यक्षमा वाङ्दा शेर्पा चयन भएका छन् । त्यस्तै सदस्यमा लाक्पा याङ्जी शेर्पा र पासाङ ल्हामु शेर्पा निर्वाचित भएका छन् ।

संघको सचिवालय तिलगंगा, गौशालामा सम्पन्न निर्वाचनबाट सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भूपेन्द्रप्रसाद पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नवनिर्वाचित अध्यक्ष दिवस पोखरेलले आफ्नो कार्यकालमा आरोही तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूको हकअधिकारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आरोहीका समस्या र अधिकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आवश्यक पहल तथा समन्वयलाई प्रभावकारी बनाउने बताएका छन्।

त्यस्तै, हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोही तथा पर्वतारोहीका परिवारप्रति संघको जिम्मेवारीलाई थप प्रभावकारी बनाउने विषयलाई समेत प्राथमिकतामा राखिने अध्यक्ष पोखरेलले बताएका छन् । आरोहणका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले भोग्दै आएका समस्या, उनीहरूको हकहित तथा आवश्यक सहयोगका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी काम गर्ने उनको भनाइ छ ।

आरोहीहरूको सुरक्षा, अधिकार र कल्याणका साथै हिमाली क्षेत्र तथा पर्वतारोहणसँग सम्बन्धित विषयमा सरकारी तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, आरोही समुदायका समस्यालाई संस्थागत रूपमा उठाउने र आवश्यक पहल गर्ने योजना रहेको पोखरेलले बताएका छन् ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले संघलाई आरोहीहरूको साझा संस्था बनाउँदै उनीहरूका समस्या समाधान र अधिकार संरक्षणका लागि प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै