टाटाको सिएरा ईभी नेपाली बजारमा सार्वजनिक,एक चार्जमा ६६५ किमीसम्म रेन्ज
काठमाडौं।टाटाको बहुप्रतीक्षित विद्युतीय एसयूभी ‘सिएरा ईभी’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शो–२०२६ मार्फत सिएरा ईभी सार्वजनिक गरेको हो ।

![]()
आकर्षक डिजाइन, लामो रेन्ज र आधुनिक प्रविधिसहित सिएरा ईभी नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ । गाडीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन् । ६३ किलोवाट आवर ब्याट्री भएको मोडलले एकपटक चार्ज गर्दा ५३५ किलोमिटरसम्म तथा ७५ किलोवाट आवर ब्याट्री भएको मोडलले ६६५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।


सिएरा ईभीमा फास्ट चार्जिङ सुविधा पनि रहेको छ । कम्पनीका अनुसार १५ मिनेट चार्ज गर्दा २६३ किलोमिटरसम्म चलाउन सकिन्छ । ब्याट्रीमा लाइफटाइम वारेन्टीको सुविधा पनि दिइएको छ ।
फोर ह्विल ड्राइभ भेरियन्टले ५०४ न्युटन–मिटर टर्क उत्पादन गर्छ भने शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमा हासिल गर्ने कम्पनीको दाबी छ । गाडीमा बुस्ट र रिल्याक्ससहित ६ वटा ड्राइभिङ मोड छन् ।

सिएरा ईभीको बाहिरी डिजाइनमा अगाडि तथा पछाडि एलईडी लाइटसँगै कनेक्टिङ एलईडी बार र १९ इन्चको अलोय ह्विल राखिएको छ ।
इन्टेरियरमा लेदरेट तथा भेन्टिलेटेड सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, थाई सपोर्ट एक्सटेन्डर र सनरुफलगायत सुविधा छन् । त्यस्तै, हेड्स–अप डिस्प्ले, वायरलेस मोबाइल चार्जिङ तथा विभिन्न कनेक्टेड फिचर उपलब्ध छन् ।


मनोरञ्जनका लागि १२ स्पिकरको जेबीएल साउन्ड सिस्टम र डल्बी एटमस प्रविधि दिइएको छ । सुरक्षातर्फ ६ वटा एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट, समन मोड र लेभल–२ एडीएएसलगायत सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।












